निर्वाचन आचारसंहिताको बारम्बार उलंघन हुँदा पनि मुकदर्शक बने भीरकोटका निर्वाचन अधिकृत

वैशाख १७/स्याङ्जा: सिंगो देश स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको छ। ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्नको लागि राजनीतिक दलहरुले आन्तरिक तयारी भीषण रुपमा थालेका छन्।‌ निर्वाचन आयोगले राजनैतिक दलका संभावित क्रियाकलापलाई लक्षित गरी निर्वाचन आचारसंहिता लागू गरेको छ।‌‌

निर्वाचन आचारसंहितामा के गर्न हुने? के गर्न नहुने? भन्ने सम्पूर्ण जानकारी दिइएको छ। तर, यही निर्वाचनको तयारीमा होमिएका राजनैतिक दल तथा दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता बारम्बार उलंघन गरिरहेको कुरा विभिन्न मिडियाले प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन्।

स्याङ्जा जिल्लाका ११ वटै पालिकामा पनि निर्वाचनको आक्रमक तयारी भैरहेको छ। पाँच नगरपालिका र ६ वटा गाउँपालिकामा क्रियाशील राजनैतिक दलले प्रचारप्रसार तथा घरदैलो क्रियाकलापलाई तिव्रता दिएका छन्। साथै निर्वाचन आचारसंहिता समेतको खिल्ली दह्रो रुपले उडाएका छन्।

नेपाली काँग्रेसले बनाएको प्रचार गेट

यसैबीच, नेपाली कांग्रेसले स्याङ्जा जिल्लामा निर्वाचन आचारसंहिताको सबैभन्दा बढी खिल्ली उडाउने काम गरेको छ। निर्वाचन आचारसंहिताले कसैको अनुमति नलिई निजी वा सार्वजनिक ठाउँमा कुनै राजनैतिक दल विशेषको चिनारी जनाउने खालका पर्चा, पम्प्लेट छाप्न वा बाँड्न, झण्डा टाँग्न, होल्डिङ बोर्ड बनाएर प्रचार गर्न पूर्ण रुपमा बन्देज लगाएको छ। तर, भीरकोट नगरपालिकाको मुकाम बयरघारी बजारका मुख्य चोक काँग्रेसका प्रचार सामग्री र बोर्डले रंगिएका छन्। ठूला-ठूला प्रचार सामग्री बनाएर सिदार्थ राजमार्गको वारपार हुने गरी टाँगिएको छ। बिजुलीका पोलपोलमा काँग्रेसका चारतारे झण्डा फहराइएको छ।

मुलुककै पूरानो र सक्रिय पार्टी जसले लोकतन्त्रको लागि पटकपटक लड्यो। आवधिक निर्वाचनको पक्षमा वकालत गर्यो। देशका ठूला परिवर्तनको संवाहक बन्यो। उही पार्टीले निर्वाचन आचारसंहिता बारम्बार उलंघन गर्दा समेत यस नगरपालिकामा खटिएका निर्वाचन अधिकृत लाचार बनेर बसेका छन्।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले भीरकोट निर्वाचन कार्यालयमा ऋषिराम आचार्यलाई निर्वाचन अधिकृतको रुपमा भीरकोट नगरपालिकामा जिम्मा दिएको छ। तर, उनले जिम्मेवारी पाएकै नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचन आचारसंहिता बारम्बार उलंघन भैरहँदा उनले कुनै प्रतिक्रिया जनाउन सकेका छैनन्। पटकपटक फोन-सम्पर्क गर्दा पनि फोनको रेस्पोन्स नगरेका निर्वाचन अधिकृतलाई भेट्न पत्रकारहरुको टोली कार्यालयमै पुग्दा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत दुबै कार्यकक्षमा भेटिएनन्। यस विषयमा पत्रकारहरुले ध्यानाकर्षण गर्दा समेत उनी मौन रहनु र काँग्रेसबाट आचारसंहिता उलंघनसम्बन्धी घटना घटिरहनुले स्वच्छ निर्वाचन हुन सक्नेमा आशंका पैदा भएको छ। उनी स्वच्छ निर्वाचन गराउनभन्दा पनि जागिर खानैका लागि भीरकोट नगरपालिका आएको महसुस भएको छ।

निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको निर्वाचन आयोगकै कर्मचारीको यो हदसम्मको लाचारीपनले देशकै एक निष्पक्ष र संवैधानिक निकायमाथि राजनैतिक दल र कार्यकर्ता हाबी भएको त होइन? भन्ने प्रश्न समेत खडा भएको छ। उनले निर्वाचन आचारसंहितासम्बन्धी प्रशिक्षण कार्यक्रम पनि कर्मकाण्डी तरिकैले गराएका थिए।

यद्यपि नेपाली कांग्रेसले जस्तै झण्डा र बोर्डहरु टाँगेर प्रचारप्रसार गरेजस्तै नगरेपनि नेकपा एमालेले समेत माइकिङ भने गरिरहेको छ। र, निर्वाचन आचारसंहिता अनुसार यो पनि गर्न नपाइने स्पष्ट छ।

Share Post on Social media