स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा राजनीतिक संस्कारको राम्रो उदाहरण

वैशाख १९/स्याङ्जा: वैशाख ३० गर्ने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सम्पूर्ण राजनीतिक दलहरु आफ्ना उम्मेदवार विजयी बनाउन चुनावी प्रचारमा लागेका छन्। जनताको घरदैलोमा पुगेर भोट माग्दै मत आफ्नो पक्षमा पार्न उनीहरुलाई भ्याईनभ्याई छ।

चुनावी प्रचारकै क्रममा ठाउँ-ठाउँमा निर्वाचन आचारसंहिता उलंघन गर्नेदेखि खुकुरी प्रहार गर्नेसम्मका अप्रिय घटना सार्वजनिक पनि भैरहेका छन्। हिजोमात्र स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार गरे। आजै रामपुर नगरपालिका पाल्पामा काँग्रेसको व्यवहार अप्रजातान्त्रिक खालको थियो।

यद्यपि यी सबै कुरा बिर्सेर स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा भने फरक राजनीतिक दलका उम्मेदवारहरु एकै ठाउँमा भेट भएर मत मागेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार सहितको चुनाव प्रचारप्रसार टोली एकै ठाउँमा भेट भई सौहार्दपूर्ण तरिकाले मतदान गरेर आफूलाई सघाउन आग्रह गर्दै सामूहिक तस्विर खिचाए।

राजनैतिक शुद्धीकरणको लागि पनि फरक मत र फरक आस्थाको सम्मान र कदर गर्दै यो संस्कार सुरु गरिएको भीरकोट नगरपालिका वडा नं ७ मा वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका ताराप्रसाद अर्याल र नेकपा एमालेका पर्वत खाम्चाले बताए। हामी एकै ठाउँका मानिस एकै वडाको विकासका लागि चुनावमा होमिएका यति संस्कारको विकास पनि गर्न नसके के समाज परिवर्तन गर्न हिँड्नु? उनीहरुको मुस्कानसहितको धारणा थियो।

उनीहरुको यो खालको व्यवहारले राम्रो राजनीतिक संस्कारको प्रारम्भ भएको र अरुको लागि पनि उदाहरण बन्ने पक्का भएको छ।‌ निर्वाचन आयोगले तय गरेको पारदर्शी, निष्पक्ष र भयरहित निर्वाचनलाई यस संस्कारले राम्रो उदाहरण पेश गरेको छ।

Share Post on Social media