नेपाली कांग्रेस अर्जुनचौपारीले सम्पन्न गर्यो चुनाव लक्षित आमसभा

वैशाख २६/स्याङ्जा: नेपाली कांग्रेस अर्जुनचौपारीले चुनाव लक्षित विशाल आमसभा अर्जुनचौपारी गाउँपालिकामा सम्पन्न गरेको छ।‌

नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य सरस्वती तिवारी, काँग्रेस गण्डकी प्रदेश उपसभापति कविता तिवारी, जिल्ला सभापति तथा संविधान सभा सदस्य राजु थापा, महासमिति सदस्य अनुप श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे लगायतका व्यक्तिहरुले विशिष्ट अतिथिको रुपमा आमसभालाई सम्बोधन गर्दै जीत निश्चित भएको बताएका थिए।

काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ

नेपाली कांग्रेस अर्जुनचौपारीका सभापति विष्णु काफ्लेको सभापतित्वमा आयोजित उक्त आमसभामा नेपाली काँग्रेस निकट विभिन्न भातृसंगठनका कार्यकर्ताहरुले विशाल र्यालीसहित बजार परिक्रमा गरी तल्लो बजारको खेलमैदानमा सभा आयोजना गरेका थिए।

यसपटक अर्जुनचौपारी गाउँपालिका अध्यक्ष पदका लागि नेपाली काँग्रेसले युवा व्यवसायी तथा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ ख का सभापति प्रकाश तिवारीलाई उम्मेदवार बनाएको छ।‌ युवा उम्मेदवार भएकाले युवामाझ उनी लोकप्रिय मानिन्छन्। साथै, उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी सपना गुरुङले दिएकी छन्।

अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेसले माओवादीसहित गठबन्धन गरेको छ भने नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेको छ। नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष चिनमाया गुरुङ र उपाध्यक्ष पदमा टंकप्रसाद खनालले उम्मेदवारी दिएका छन्।

Share Post on Social media