जनप्रतिनिधिको उदाहरणीय काम, गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण
साउन ३/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम सुरु गरेको छ।
अर्जुनचौपारी गाउँपालिका ६ का ९८ बर्षिय मोतीलाल तिवारीले गाउँमै बृद्धभत्ता पाएकोमा हर्षित हुनुभएको छ । घरदेखी तीन घण्टा लगाएर बैँकमा पुगेर घण्टौँ लाइनमा बसेर बृद्धभत्ता लिने तिवारीले क्षणभरमै बृद्ध भत्ता पाउनु भएको हो।
जिप रिजर्भ गरेर स्याङ्जा र अर्जुनचौपारी मुक्तीनाथ बैँकको शाखामा पुगेर भत्ता लिएको बताउँदै तिवारीले मिनेटभरमा गाउँमै आएर भत्ता दिएकोमा जनप्रतिनिधिप्रति आभार व्यक्त गर्नुभयो ।
तिवारी जस्तै ७२ वर्षीय थम कुमारी पौडेलले बैँकमा तीन दिन धाएर लाईनमा बसेर भत्ता लिएको बताउँद गाउँमै भत्ता ल्याएर दिएर बृद्धबृद्धालाई गुन लगाएको बताउनुभयो ।
भत्ता बापत पाउने आठ हजार तीन दिन बैक जाँदा र आउँदा सकिएको बताउँदै पौडेलले पहिलो पटक गाउँमा सरकार आएको अनुभूति गरेको बताउनुभयो ।
गाउँपालिकाले मुक्तिनाथ विकास बैकसँग सहकार्य गर्दै पहिलो पटक गाउँमै पुगेर बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता वतरण गरेको हो।
निर्वाचनको क्रममा जनतासँग गरेका वाचा पुर्याउने र बृद्धबृद्धाको दु:ख देखेर गाउँ-गाउँमै भत्ता दिने व्यवस्था गरेको बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पहिलो चरणमा ७० वर्षभन्दा माथि उमेर भएकालाई गाउँ – टोलमा भत्ता वितरण गरेको बताए। थोरै भत्ता लिनको लागि दु:ख, समय र रकमको खर्च भएको बताउँदै तिवारीले गाउँमै भत्ता वितरण गर्दा बृद्धबृद्धालाई सहज भएको बताए।
गाउँपालिका अध्यक्ष तिवारीले सबै वडामा पुगेर हरेक तीन-तीन महिनामा सामाजिक सुरक्षा भत्ता बाँड्ने बताउँदै अबको तीन महिनापछि सबैलाई टोलमै भत्ता वितरण गर्ने योजना रहेको जानकारी दिए।
पालिकामा पहिलो पटक आफु जनप्रतिनिधि भएपछि सामाजिक सुरक्षाभत्ता गाउँमा पुगेर वितरण गरेको बताउँदै तिवारीले जनताको हितमा काम गर्ने आफ्नो पहिलो दायित्व भएको अध्यक्ष तिवारीको भनाइ छ।
निर्वाचनसँगै जनताको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अर्जुनचौपारी गाउँपालिका पहिलो स्थानीय निकाय हो ।
अर्जुनचौपारी गाउँपालिकामा दुई हजार पाँच सय तेइस जना सामाजिक सुरक्षा भत्ता लिने संख्या रहेकोमा एक हजार दुई सय एकाउन्न जना ७० बर्ष माथिका बृद्धबृद्धा रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्