स्याङ्जाको छायाँक्षेत्र मन्दिरमा गाडियो २५ फुट अग्लो त्रिशूल

साउन २२/स्याङ्जा: स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा त्रिशूल स्थापना गरिएको छ।

समाजका विभिन्न सहयोगीहरुबाट संकलन गरिएको रकमबाट त्रिशूल खरिद गरी छायाँक्षेत्र मन्दिरमा स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

२५ फुट अग्लो त्रिशूल निर्माणको लागि १ लाख ३० हजार मूल्य लागेको बुझिएको छ। उक्त त्रिशूललाई छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ र भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छायाराम खनालले एकसाथ अनावरण गर्दै यस क्षेत्रको प्रसिद्ध छायाँक्षेत्र मन्दिरलाई देशव्यापी प्रचारप्रसार गर्न सबैमा अनुरोध समेत गरे।

स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको र स्याङ्जा जिल्लाकै प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा १०८ जलधारा समेत निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ। साउन महिनाभर शिव अनुयायीको यस मन्दिरमा घुइँचो लाग्ने गर्दछ भने शिवरात्रि तथा एकादशी पर्वमा समेत भक्तजनको यहाँ भीड हुने गर्दछ।

Share Post on Social media