विरुवा गाउँपालिकाले गर्यो विपद् जोखिम व्यवस्थापन तालिम सम्पन्न

भदौ २/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले विपद् जोखिम व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।

आफू मातहतका सम्पूर्ण कर्मचारी तथा सरोकारवालाहरुलाई विपद्को अवस्थामा गरिने उद्धार कार्य, विपद् आउनुअघिका सावधानी तथा तयारी र विपद् पश्चात गरिने उद्धार कार्यसम्बन्धी चेतना र रिहर्सल सहित तालिम आयोजना गरिएको विरुवा गाउँपालिकाले जनाएको छ।

२ दिन सम्म चलेको उक्त कार्यक्रममा करिब ५० बढीको सहभागिता रहेको विरुवा गाउँपालिकाले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मै विपद् व्यवस्थापन सम्बन्धी पूर्वतयारी हरेक स्थानीय तहले गर्नुपर्ने उल्लेख छ।

विरुवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अनन्तराज न्यौपाने आएपछि गाउँपालिकामा सामाजिक तथा प्रशासनिक कार्यले चुस्तता पाएका छन्।

Share Post on Social media