स्याङ्जामा पहिलो फार्मेसी पढाई सुरु,”गाउँ-गाउँमा प्राविधिक शिक्षा,आजको आवश्यकता”,अर्याल

भदौ २३/स्याङ्जा: नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय पद्मा अर्यालले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताएकी छन्।

वालिङ स्कोलर्स फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अर्यालले आज स्याङ्जावासीको एउटा सपना पूरा भएको र उक्त सपना पूरा गर्ने कार्यमा आफू सहभागी भएर भूमिका निर्वाह गर्न पाउँदा निकै गर्व महसुस भएको बताएकी हुन्।

हजारौँ लाखौँ नेपाली युवाहरु आज सीपविहीन भएर कठिन काम गर्नुपरेको छ। पढेको शिक्षा र डिग्री दुबै बेकामे भएको छ भन्दै उनले एक घर एक सीपमूलक युवा र एक पालिका एक प्राविधिक शिक्षालय आफूहरुको एजेण्डा र नारा रहेको भन्दै स्याङ्जाको वालिङमा प्राविधिक शिक्षालय त्यो पनि फार्मेसी र हाइड्रोपावर इन्जिनियरिङ कार्यक्रम ल्याउन पाउँदा भावूक भएको बताएकी थिइन्।

यहाँका नागरिकको चाह र आवश्यकता आज पूरा भएको छ। स्याङ्जा जिल्लाले पहिलो फार्मेसी र हाइड्रोपावर इन्जिनियरिङको पढाइ हुने शिक्षालय पाएको छ। यो कार्यक्रममा मात्र पहिलो होइन नतिजामा समेत पहिलो होस् र स्याङ्जा जिल्लाको‌मात्र नभई देशकै गर्व गर्नलायक संस्था बनोस् भन्दै उनले शुभकामना समेत दिएकी थिइन्।

“यो कार्यमा अनवरत रूपमा खट्ने वालिङ स्कोलर्स फाउण्डेशनका अध्यक्ष कृष्णप्रसाद डुम्रे, यस फाउण्डेशनका सम्पूर्ण सदस्यहरु, अभिभावक र सिंगो समाज नै धन्यवादको पात्र हुनुहुन्छ” उनले भनिन्।

उक्त कार्यक्रमबाटै पूर्वमन्त्री अर्यालले आफूलाई विश्वास गरी मत दिएर निर्वाचित गराउनुहुने सम्पूर्ण मतदाताहरुलाई सम्झेर धन्यवाद दिएकी थिइन्। “तपाइँहरुले मत दिएर मलाई जिताउनुभयो। मैले देशकै निम्ति सम्झनलायक केही कामहरु गरुँ भनी सक्नेजति प्रयास गरेँ।” तपाइँहरु मेरो यादमा, मेरो मनमा, मेरो मुटुमा हुनुहुन्छ भन्दै अर्यालले यो ठाउँको विकासको लागि आफू अन्तिम समयसम्म लडिरहने बताएकी थिइन्।

चुच्चे नक्सा सार्वजनिक गर्दादेखि नै आफूले ज्यानको प्रवाह गर्न छोडेको बताउँदै समाजले सम्झन सक्ने केही काम गरुँ भन्ने मनमा लागिरहेको बताएकी थिइन्। कोभिडको समयमा रासायनिक मल आपूर्ति गर्नेदेखि चुच्चे नक्सा सार्वजनिक गर्ने, सगरमाथाको उचाई नाप्ने, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नेसम्मका गर्व गर्न लायक कार्यहरु उनको मन्त्री हुँदाको कार्यकालमा उनले गरेकी थिइन्।

उनले आजै वालिङ डुम्रीभञ्ज्याङ हुँदै पर्वत जोड्ने बाटोलाई आफूले बजेट बिनियोजन गरेको भन्दै उक्त बाटोको निर्माण गर्ने ठेक्का पाएको ठेकेदारलाई भेटेरै छिटोभन्दा छिटो गुणस्तर कायम गर्दै उक्त बाटोको पीच तथा नाला निर्माण सम्पन्न गर्न निर्देशन समेत दिइन्। स्थानीयहरुसँग उनले ठेकेदारलाई राखेरै गुणस्तरमट सम्झौता नगर्न र ढिलाई नगर्न समेत निर्देश गर्दै नागरिकको सुखदुःखमा आफू सदा साथी रहने प्रतिबद्धता गरिन्।

खानेपानी आयोजनादेखि अन्य विभिन्न आयोजनामा आफूले बजेट विनियोजन गरेको तर हालको गठबन्धन सरकारले कटौती गरेको भन्दै उक्त सम्पूर्ण योजनाहरु पुनः आफूले अगुवाई गरी सञ्चालनमा ल्याउने र त्यसमा सबै स्थानीय, मतदाता र सरोकारवालाको साथले मात्र सम्भव रहने कुरा उनले बताइन्।‌

वालिङ स्कोलर्स फाउण्डेशनद्वारा सञ्चालनमा ल्याइएको डिप्लोमा इन फार्मेसी तथा डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ कार्यक्रम स्याङ्जा जिल्लामै एकमात्र अध्यापन गराइने विषय हुन्।

डिप्लोमा इन फार्मेसीमा ४०‌जनाको कोटा निर्धारण गरिएको भएपनि ५३ जनाले प्रवेश परीक्षा दिएको तथा हाइड्रोपावर इन्जिनियरिङमा पर्याप्त प्रचारप्रसार गर्न नसकेका कारण थोरै विद्यार्थीमा मात्र यससम्बन्धी जानकारी पुगेकाले विद्यार्थी कम रहेको जानकारी वालिङ स्कोलर्स फाउण्डेशनका प्रिन्सिपल प्रदिप बगालेले जानकारी दिएका थिए।

सिटिईभिटीले निर्धारण गरेको कोटा र शुल्क अनुसार नै अध्यापन गराइने यी विषयमा ३ वर्षे डिप्लोमा तहको अध्ययन गर्दा करिब ४ लाख रुपैयाँ लाग्ने फाउण्डेशनले जनाएको छ।

पहिलो फार्मेसी तथा डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ कार्यक्रम ल्याउन पहल गरेको खुशियालीमा पूर्वमन्त्री पद्मा अर्याललाई सम्मान गर्दै स्थानीयले बाजागाजा र झाँकीसहित स्वागत गरेका थिए। पद्मा अर्याल स्याङ्जा जिल्लाकी विकासवादी चिन्तन भएकी नेतृ हुन्।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद् माननीय मोहन रेग्मी, शिक्षक, पत्रकार, समाजसेवी, राजनीतिकर्मी, बुद्धिजीवी, विद्यार्थी लगायत सयौँ स्थानीयहरुको उपस्थिति रहेको थियो।

Share Post on Social media