छायाँक्षेत्र मन्दिरमा श्रेष्ठ नै सर्वश्रेष्ठ, पुनः अध्यक्षमा चुनिए पिताम्बर श्रेष्ठ

भदौ २५/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ४ स्थित छायाँक्षेत्र मन्दिरको आज भएको २४ औं साधारणसभा तथा १० औँ अधिवेशनबाट पिताम्बर श्रेष्ठ नै अध्यक्षमा चुनिएका छन्।

आज भएको साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। १५ सदस्यीय समितिको उपाध्यक्षमा सुबेदार ख्यामबहादुर थापा तथा लक्ष्मी थापा, सचिवमा कृष्ण श्रेष्ठ, सहसचिव शोभाकान्त पौडेल, कोषाध्यक्षमा गोकुल अधिकारी चयन भएका हुन्। ७ जना सदस्य कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ।‌

उक्त साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश सरकारका शिक्षा विज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, विशिष्ट अतिथि भीरकोट नगरपालिकाका मेयर गोविन्द कर्माचार्य लगायतका विभिन्न सामाजिक व्यक्तित्व, राजनीतिक दलका प्रतिनिधिहरु थिए।

उक्त साधारणसभामा छायाँक्षेत्र मन्दिरका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै मन्दिरको आयव्यय विवरण समेत सार्वजनिक गरिएको थियो। साधारणसभा तथा अधिवेशनको सञ्चालन शोभाकान्त पौडेलले गरेका थिए भने अध्यक्षता निवर्तमान अध्यक्ष पिताम्बर श्रेष्ठले गरेका थिए।

छायाँक्षेत्र मन्दिर स्याङ्जा जिल्लाको प्रमुख धार्मिक तीर्थस्थलमध्येको एक स्थल मानिन्छ। जसको वर्णन स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ।

Share Post on Social media