विरुवा गाउँपालिकाले गर्यो स्वास्थ्य प्रयोगशालाको शुभारम्भ

असोज २/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेको छ।

विरुवा गाउँपालिकाको वडा नं १ र ५ मा उक्त स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरिएको हो। आज स्वास्थ्य प्रयोगशालाको शुभारम्भ कार्यक्रम आयोजना गरी विरुवा गाउँपालिकाले अब पालिकामै अधिकांश स्वास्थ्य सेवाको उपलब्धता गराउने जनाएको छ।

उक्त स्वास्थ्य प्रयोगशालाको शुभारम्भ कार्यक्रममा बोल्दै विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले आफ्ना पालिकाका नागरिकको स्वास्थ्य आफ्नो सरोकारको विषय रहेको जनाउँदै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा आफू गम्भीर रहेको बताए।

वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसी, वडा नं ५ का वडाध्यक्ष मानबहादुर थापा ‘नवीन’, विरुवा स्वास्थ्य चौकी प्रमुख इन्द्र पौडेल, शिक्षा शाखा प्रमुख जीवलाल भुषाल लगायतले आफ्नो धारणा राखेका थिए। यसैगरी नेकपा एमालेको तर्फबाट प्रेमबहादुर रेग्मी तथा नेपाली कांग्रेसका तर्फबाट सचिन क्षेत्रीले आफ्नो धारणा राख्दै पालिकाले सुरु गरेको काममा आफूहरु खुशी रहेको र यस्ता रचनात्मक काममा आफूहरुले समर्थन गर्ने समेत बताएका थिए।

स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कार्यपालिका सदस्यहरुको पहिलो कार्यपालिका बैठकले पालिका भित्र रहेका सबै स्वास्थ्य चौकीहरुमा स्वास्थ्य प्रयोगशाला स्थापना गर्ने निर्णय गरेबमोजिम आज वडा नं १,३,४ र ५ मा रहेका क्रमश विरुवा स्वास्थ्य चौकी, राङ्गभाङ स्वास्थ्य चौकी, ओरष्टे स्वास्थ्य चौकी र किचनास स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरी एकसाथ समुद्घाटन गरिएको हो।

वडा नं ८ स्थित भीरकोट स्वास्थ्य चौकीमा यसअघि नै स्वास्थ्य प्रयोगशाला स्थापना भइसकेको र वडा नं ६, चिन्नेवासमा छिट्टैनै प्रयोगशाला स्थापना गरिनेछ ।

Share Post on Social media