भीरकोट जेसिसद्वारा एकदिने स्वास्थ्य शिविर सञ्चालन

असोज ३/खबरकलम संवाददाता: संविधान दिवसको अवसरमा भीरकोट जेसिजले १ दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

भीरकोट जेसिजको आयोजनामा भीरकोट नगरपालिका र चरक मेमोरियल हस्पिटल पोखराको संयुक्त सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। बालज्योति आवासीय माविको प्राङ्गणमा सोमबार बिहान ११ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन भएको शिविरमा करिब एक हजार भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएको उक्त स्वास्थ्य शिविर कार्यक्रमका संयोजक रूद्र ढुङ्गानाले जानकारी दिए।

आज सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा मुटु, छाति,पेट, ग्यास्ट्रिक सम्बन्धी जाँच तथा परामर्श, हाडजोर्नी तथा नशासम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श , महिला तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, भिडियो एक्स-रे, इ.सि.जि, सुगर तथा अन्य जाँच, रुघाखोकी, ज्वरो, घाँटी सम्बन्धी जाँच तथा परामर्श, दन्त रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, बालरोग सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श लगायतका सेवाहरू उपलब्ध गराइएको थियो।

शिविरमा एक दर्जनभन्दा बढी डाक्टरहरूले विशेषज्ञ सेवा प्रदान गरेका थिए।शिविर समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले नागरिकहरूको स्वास्थ्यमा पहुँच विस्तार गर्न पालिकाले स्वास्थ्य शिविर संचालनमा जेसिजलाई सहयोग गरेको बताए।

यसैगरी भीरकोट नगर अस्पतालको सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास भैरहेको उनको भनाइ थियो। चरक अस्पताल पोखराका अध्यक्ष रामचन्द्र रेग्मीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर संचालन गरिएको बताउँदै भीरकोटको स्वास्थ्य सेवाको पहुँच विस्तारमा सहयोगी बन्न पाउँदा खुशी लागेको बताए।

भीरकोट जेसिजले सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ।

Share Post on Social media