आँधीखोला गाउँपालिकामा सलह, कृषकले २४ किलो जम्मा गरी पालिकामा बुझाए किरा!

बुधवार साँझदेखि आँधीखोला गाउँपालिकाका विभिन्न वडामा लाखौँको संख्यामा देखिएका सलह किराले खेतबारीमा कृषकले लगाएका धान कोदो र तरकारी लगायतका बालीनालीमा ठूलो क्षति पुर्याएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताएका छन्।

‘सलहले बाली नालीमा नोक्सान भएका कुरा कृषकहरूले फोन मार्फत जानकारी दिएका छन् तर क्षतिको पूर्ण विवरणहरू यकिन भएको छैन ’ उनले भने।

यसैगरी, आँधीखोला गाउँपालिकामा आज सलह छोपेर बुझाउने १३ जना पुरस्कृत भएका छन् । सलह नियन्त्रणका लागि गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी ३०० दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका १३ जनाले २४ किलो सलह छोपेर आँधीखोला गाउँपालिकालाई बुझाएका छन् । बिहीवार दिउँसो आँधीखोला गाउँपालिका वडा नं २ र ५ का १३ जनाले २४ किलो सलह कीरा छोपेर कृषि शाखामा बुझाएपछि गाउँपालिकाले उनीहरूलाई सात हजार दुई सय रुपैयाँ प्रदान गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताएका छन्।

सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन सलह कीरा छोपेर ल्याउनेलाई पैसा दिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाले १२० रुपैयाँ प्राप्त गरेका थिए।

Share Post on Social media