फरार प्रतिवादी धमाधम पक्राउ गर्दै स्याङ्जा प्रहरी

कार्तिक २३/स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी समात्ने अभियान तिब्र पारेको छ। जसअन्तर्गत सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी आज पक्राउ परेका छन्।


पाल्पा जिल्ला रम्भा गाउँपालिका-२ का ३८ वर्षीय राजकुमार दर्जीलाई सम्मानित स्याङ्जा जिल्ला अदालतले सवारी ज्यान मुद्दामा गत वर्ष कार्तिक ३० गतेका दिन १ वर्ष ५ महिना २१ दिन कैद तोकिएको र उनी फरार भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलिले सजाय तोकिएपश्चात फरार रहेका निजलाई यही कार्तिक २१ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए।


डिएसपी खनालले निजलाई थप आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला अदालत स्याङ्जामा पेश गरी सजाय बमोजिम कैद भुक्तानको लागि स्याङ्जा जिल्ला कारागार पठाइएको जानकारी दिए।

Share Post on Social media