स्याङ्जामा चितुवाको आक्रमणबाट तीन घाईते
वालिङ, २५ कात्तिक ।
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाईते भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाईते भएका हुन् । वालिङ नगरपालिका वडा नं १४ का वडाध्यक्ष बोधराज कुँवरले वालिङ १२ का किसान न्यौपाने, वालिङ १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाईते भएको जानकारी दिए।
खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाईते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र घरभित्र जाँदा तुलसा पराजुली र लक्ष्मी पराजुली समेत घाईते भएको बुझिएको छ। घाईते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ। किसान न्यौपानेको छाति तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाईते भएका तीन जनालाई उपचारकालागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारकालागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको अस्पतालका बरिष्ठ ल्याब अधिकृत ईश्वर कोईरालाले जानकारी दिए।
भक्षक चितुवालाई अहिले घरभित्र थुनेर राखिएको छ। उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र ईलाका बन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्