थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
कार्तिक २६/स्याङ्जा: थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा प्रमुख कार्यालय रहने गरी स्थापित उक्त कृषि सहकारीले अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको हो।
सहकारीको साधारणसभामा बोल्दै पालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा कुनैपनि आधारमा विभेद नगरिने र कृषि उत्पादन मार्फत गाउँपालिकालाई संबृद्धिको पथमा लैजान कृषिमा आधारित अनुदानमा जोड दिइने कुरा बताएका थिए। गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी ८१ वटा योजना गाउँपालिकाको विकासको निम्ति ल्याइएको जानकारी समेत दिएका थिए।
साधारण सभामा बोल्दै पूर्व अर्जुनचौपारी गाविस अध्यक्ष तथा जिल्लाकै अग्रणी किसान फणिनारायण अर्यालले सहकारीले उत्पादनमा जोड दिनुपर्ने र उत्पादनमा आधारित योजनालाई आफूले समेत आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
साधारण सभामा थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष पिताम्बर अर्यालले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए भने लेखा समिति संयोजक पुन्यप्रसाद रिजालले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापा, विभिन्न सहकारीका व्यवस्थापक अतिथि रहेको उक्त साधारणसभामा सञ्चालन सहकारीका सचिव ओमबहादुर जिटीले गरेका थिए भने स्वागत मन्तव्य दुर्गा पोखरेल अर्यालले दिएकी थिइन्।
विसं २०६५ मा ४९ जना सदस्यहरुले रु १० लाख ३५ हजार रकम जम्मा गरी स्थापना भएको उक्त सहकारीको हाल कुल शेयर पुँजी २४ लाख १४ हजार रहेको तथा कुल शेयरधनी संख्या २४७ जना रहेका छन्। हाल ९३ लाख ९० हजार ३६८ रुपैयाँ लगानीमा रहेको उक्त साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्