इन्धनमा मिसावट भएको भन्दै स्याङ्जा प्रशासनले गर्यो पेट्रोल पम्प सिल
पौष २७/खबरकलम संवाददाता: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले इन्धनमा मिसावट गरी बिक्री वितरण गरेको र सवारीको इन्जिन बिगारेको आरोपमा एक पेट्रोल पम्प सिल गरेको छ।
स्याङ्जा जिल्लाको सदरमुकाम स्थित नेपाल पेट्रोलियम सप्लायर्स बाडखोलाले इन्धनमा मिसावट गरेको आरोपमा सिल गरिएको र थप कारबाही प्रक्रिया सुरु गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले दिएका छन्।
सेवाग्राहीहरुले नै त्यस पम्पबाट हालिएको तेलका कारणले विभिन्न सवारीसाधनहरुमा खराबी आएको गुनासो बढेपछि उक्त पेट्रोल पम्प सिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिएका हुन्।
उनका अनुसार पम्प सिल पश्चात नमुना स्वरुप बिक्री वितरण गरिएको तेल दक्ष प्राविधिक मार्फत अनुसन्धान गर्न परीक्षण केन्द्रमा पठाइएको छ । साथै प्रजिअ क्षेत्रीले अनुसन्धानपश्चात दोषी देखिए उक्त नेपाल पेट्रोलियम सप्लायर्सलाई कानुनी कारबाही अगाडी बढाइने समेत जानकारी दिए।
यसअघि पनि स्याङ्जा जिल्ला स्थित विभिन्न पेट्रोल पम्पहरुमा मिसावट भएको गुनासो आइरहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्