विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा गौ संरक्षण एवम् गौ महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ २१/स्याङ्जा: विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा गौ संरक्षण एवम् गौ महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम भीरकोट ८ मा सम्पन्न गरिएको छ।

विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेलले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायाराम खनाल, विशिष्ठ अतिथिमा भीरकोट नगरपालिका उपमेयर भगबती रेग्मी अर्याल, नगर प्रवक्ता एवम् वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष एवम् भीरकोट ८ का वडाध्यक्ष नन्दलाल खनाल, विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एवम् वालिङ -११ का वडाध्यक्ष डण्डपानी पंगेनी, विश्व हिन्दू युवा संघ स्याङ्जाका प्रवक्ता हरी रेग्मी, जिल्ला सदस्य बबिन पाठक,स्थानीय आमा समुह ,गौशालाका अध्यक्ष, बौद्धिक वर्ग लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि छायाराम खनालले गाईको महत्त्वको बारेमा चर्चा गरेका थिए। उनले गाईको धार्मिक रुपमा मात्र नभई गाईको धेरै ठाउँमा उपयोगिता रहेको कुरा बताउँदै गाईको मुत्रले धेरै रोगको निवारण गर्ने र यसको दूधको धेरै नै महत्त्व भएको हुनाले आफ्नो गाउँ बनाउन सबै जना लाग्नु पर्ने र गौशलाको लागि खट्न अनुरोध गरे।

उपमेयर अर्यालले पनि गाईलाई हामीले लक्ष्मीको रुपमा पुज्ने र यसको धेरै नै महत्त्व रहेको कुरा बताएकी थिइन्। कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गाई संसारको माता रहेको र गाईको आयुर्वेदमा ३६ हजार सूत्र भएको यसलाई हामीले चिन्नु पर्ने कुरा बताए। गौशाला र संरक्षण गर्न विश्व हिन्दू युवा संघ सधैं लागि पर्ने कुरा बताउँदै उनले अब छिट्टै नै गौ संरक्षणका लागि आफूहरु जिल्लाव्यापी रुपमा लाग्ने कुरामा जोड दिए।

उक्त कार्यक्रममा निवर्तमान मेयर खनाललाई विश्व हिन्दू युवा संघ स्याङ्जाले गौ संरक्षण आफू मेयर हुँदा र अहिले पनि गरेको कामप्रति सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य हरी रेग्मीले दिएका थिए भने कार्यकमको सञ्चालन विश्व हिन्दु महासंघ भीरकोट उपाध्यक्ष विष्णु काफ्लेले गरेकी थिइन्।

Share Post on Social media