हत्या घटनाको अनुसन्धान फितलो भन्दै प्रहरी कार्यालय स्याङ्जा घेराउ

राम बहादुर रोकाहा ,वैशाख १७: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान फितलो गरेको भन्दै पुतलीबजार नगरपालिका वडा नं १३ का महिलाहरुले कार्यालय घेराउ गरेका छन्।

पीडितलाई न्याय दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालत स्याङ्जामा घेराउ गरी उनीहरुले दबाब सृजना गरेका छन्। घरायसी विवादका कारण श्रीमान र जेठाजुको कुटपिटबाट स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ यावदी निवासी कमला न्यौपाने सुवेदीको मृत्यु भएको थियो। गत माघ २२ गते राती भएको कुटपिटबाट गम्भीर घाइते भएकी न्यौपानेको यही चैत्र ७ गते काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

घटना संकास्पद भएपछि मृतक न्यौपानेका दुई छोरी र एक छोरासहित माइती पक्षले ४ जना विरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरिएको थियो भने मृतकका श्रीमान लक्ष्मीप्रसाद न्यौपानेले कुटपिट गरेको स्वीकार गरेपछी कर्तव्य ज्यान मुद्दा अगाडि बढाइएको र पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो। घटनामा संलग्न अमाजुलाई म्याद थप गरी अनुसन्धान गरिरहेको र जेठाजु केशवराज न्यौपानेलाई जिल्ला अदालत स्याङ्जाले दुई लाख धरौटीमा छाडिदिएको थियो।

धरौटीमा छुटेका जेठाजु केशवराज न्यौपानेलाई समेत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै पुनः उजुरी दिइसकेपछी प्रहरीको सम्पर्कमा नआएको , फरार रहेका उनलाई आजसम्म पनि पक्राउ गरी अनुसन्धान नगरिएको, मृत्यु भैसकेको व्यक्तिलाई न्याय नदिई राजनैतिक दबाबमा अनुसन्धान फितलो गरेको भन्दै महिलाहरु र माइती पक्षको टोलीले दबाब सहित न्यायका लागि जिल्ला प्रहरी कार्यालय र अदालत घेराउ गरेका हुन्‌। सोही घेराउ गर्ने समयमा प्रहरीसङ्ग हातपात हुँदा मृतकका भाइ जीवन सुवेदी घाइते समेत भएका छन्।

Share Post on Social media