ब्रम्हकुमारीज बयरघारीद्वारा आयोजित पाँच दिवसीय श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ सुरु

जेठ ६/स्याङ्जा: ब्रम्हकुमारीज बयरघारीद्वारा आयोजित पाँच दिवसीय श्रीमद्भगवद गीता ज्ञान महायज्ञ तथा व्यावहारीक एवं बैज्ञानिक प्रवचन कार्यक्रम भव्यताको साथ समुद्घाटन भएको छ।

भीरकोट नगरपालिका वडा नं ७ मर्तमास स्थित ओमकारेश्वर महादेव मन्दिरमा आजबाट पाँच दिनसम्म उक्त ज्ञान महायज्ञ एवम् प्रवचन कार्यक्रम सुरु भएको हो।

आज आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, भीरकोट नगरपालिका उपप्रमुख भगवती अर्याल, भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनाल, भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला, पब्लिक आवाज साप्ताहिक पत्रिकाका सम्पादक अमृत अर्याल, कालिका बचत तथा ऋण सहकारीका अध्यक्ष भविश्वर कोइराला लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियो भने प्रमुख वाचिका राजयोगिनि ब्रह्माकुमारी अमृत दिदीले प्रवचन वाचन गरेकी थिइन्। उक्त कार्यक्रमको सञ्चालन ब्रह्माकुमार शिशिर रेग्मीले गरेका थिए भने कार्यक्रम सभापतित्व ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय बयरघारी शाखाकी प्रमुख राजयोगीनि ब्रह्माकुमारी सुवाष दिदीद्वारा गरिएको थियो।

उक्त श्रीमद्भागवत गीता ज्ञान महायज्ञ अनिवार्य दान र सहयोग उठाउन आयोजना गरिएको नभई विशुद्ध धार्मिक एवम् प्रवचन र आत्मिक अनुष्ठानको निम्ति आयोजना गरिएको आयोजकले जनाएको छ।

श्रीमद्भागवत गीता ज्ञान महायज्ञको पूर्वसन्ध्यामा हिजै बयरघारी बजारबाट महायज्ञ स्थलसम्म कलशयात्रा तथा झाँकी प्रदर्शन गरिएको थियो।

Share Post on Social media