वालिङ नगरपालिकाले सार्वजनिक गर्यो आव २०८०/८१ को बजेट

असार ११/वालिङ: वालिङ नगरपालिकाले आ.व.०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगरप्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

‘उत्पादन,रोजगारी र पूर्वाधारः वालिङको विकास र समृद्धिको आधार’ भन्ने मुल नारा सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरमा उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको छ ।

यसै गरी वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८ करोड ८९ लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आइतबार आयोजित १४ औँ नगरसभामा नगरउपप्रमुख कविता तिवारीले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेकी हुन्।

उपप्रमुख तिवारीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६.१३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लाख ५१ हजार अर्थात ४३.८७ प्रतिशत रहेको छ । विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १ सय ५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पुर्वाधार विकासमा ९ करोड ७७ लाख ८ सय, सुशासन र अन्तर सम्बन्धतर्फ ३ करोड ५५ हजार ९ सय रहेको छ ।

अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये आन्तरिक आयस्रोत ३१ करोड, संघीय वित्तीय समानिकरण १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँट १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानिकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार सशर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ ।

Share Post on Social media