कालीगण्डकी गाउँपालिकाको टेवा, घरघरमा स्वास्थ्य ल्याब सेवा

असार २०/जीवन अर्याल: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले आफ्नो पालिकाका वासिन्दालाई स्वास्थ्यमा सहज र सरल पहुँचको निमित्त घरघरमा स्वास्थ्य ल्याब सेवा सुरु गरेको छ।

आफ्ना नागरिकलाई स्वास्थ्य उपचारको पहिलो प्राथमिकता दिँदै गाउँपालिकाले हरेक नागरिकको घरदैलोमै पुगेर विभिन्न २७ प्रकारका परीक्षण गरी तत्काल Lab Report हातमै उपलब्ध गराउन ईजरायली प्रविधिको जाँच गर्ने सुविधा (Lab in a Bag) आज गाउँपालिकाको कार्यालयमा परीक्षण गरी स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम समेत प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए।

स्वास्थ्यकर्मीहरू घरघरमै पुगी नागरिकको स्वास्थ्य जाँच (तत्काल ल्याब रिपोर्टसहित) गर्ने कार्यबाट स्वास्थ्य सेवाको क्षेत्रमा कालीगण्डकी गाउँपालिकाका नागरिकको अझै बढी सरल र सहज पहुँच स्थापित गर्न अग्रसरता लिइएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेयको भनाइ छ।

यसअघि पालिकाले आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्य बिमा सहितको व्यवस्था गरिसकेको छ।

Share Post on Social media