लम्बिँदो खडेरीले स्याङ्जाका खेत बाँझै, ४५ प्रतिशत रोपाइँ बल्ल सकियो

असार २६/जीवन अर्याल: अरु समयमा मनसुन सुरु भएर आधा भैसक्ने असार महिनामा यसपटक भने असार सकिनै लाग्दा पनि मनसुनी वर्षा हुने छाँटकाँट छैन। मनसुनी वर्षा हुन नसक्दा स्याङ्जामा हालसम्म करिब ४५ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ।

स्याङ्जामा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ भने २ हजार हेक्टरमा हिउँदे धान खेती हुने गरेको छ।

हिउँदे धान उत्पादनमा मौसमले खासै प्रभाव नपारेकाले राम्रो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। तर, वर्षादको समयमा लम्बिँदो असारे खडेरीका कारण कृषकहरू प्रत्यक्ष प्रभावित बनेका छन्। लामो समय पानी नपर्दा धानको बीउ खेतमै सुकेको तथा रोपाइँ गर्न नसकिएको किसानहरु बताउँछन्। अपेक्षित वर्षा भयो भने साउन १५ सम्म ९० प्रतिशत भन्दा बढी रोपाईं हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए।

स्याङ्जा जिल्लाको धान खेती हुने प्रमुख स्थानहरु आँधीखोला, दरौँखोला, ज्याग्दीखोला र कालीगण्डकी किनारका फाँटहरूमा राम्रो धान उत्पादन हुने गरेको छ।

वार्षिक औसत ५० हजार मेट्रिक टन धान उत्पादन हुने गरेको स्याङ्जा जिल्लामा खडेरी कायमै रह्यो भने ६० प्रतिशत भन्दा बढी रोपाईं हुन नसक्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ। कृषकहरूले हरेक वर्ष उन्नत जातका बीउ प्रयोग गरीरहेको र मौसमले साथ दिएको अवस्थामा धान उत्पादन बढिरहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख हमालले खबरकलमलाई जानकारी दिए।

यसपटक समयमै पर्याप्त रासायानिक मल पाइएकाले पनि कृषकहरूलाई मलको कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले दाबी गरेको छ। कृषि ज्ञान केन्द्रले स्थानीय समस्याहरूमा आधारित रहेर परीक्षण गर्ने, प्रयोगशाला तथा प्राविधिक सेवा, कृषकहरूको क्षमता विकास, कृषि तथ्यांक संकलन, उन्नत जातको नश्ल सुधार तथा बीउबिजन वितरण, पोषण कार्यक्रम, साना सिंचाई योजना तथा मर्मत सम्भार जस्ता कार्यहरुमा कृषकहरूलाई सहयोग गर्दै आएको छ।

Share Post on Social media