भीरकोट साना किसान सहकारीले किसानलाई बाँड्यो सुन्तलाका विरुवा

फागुन २०/स्याङ्जा : भीरकोट नगरपालिकाको वडा नं ६ बगरेबजार स्थित भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले किसानलाई सुन्तलाका विरुवा वितरण गरेको छ।

आज आफ्नै कार्यालयमा एक कार्यक्रम गरी किसानहरुलाई कलमी र बिजु प्रजातिका सुन्तलाका विरुवा वितरण गरिएको जानकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले दिए। उनका अनुसार संस्थाका अध्यक्ष तुलसी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्साल, विशेष अतिथि उक्त सहकारीका संस्थापक अध्यक्ष विश्वनाथ अर्याल, अतिथि सुन्तला सुपरजोनका कृषि प्राविधिक इन्द्र सुवेदी लगायका व्यक्तित्वहरु, संस्थाका सञ्चालक समिति सदस्यहरु, शेयर सदस्यहरु उपस्थित थिए।

संस्थाकी सचिव सीता खनाल ( सिमा ) ले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यवस्थापक कुमार श्रेष्ठले दिएका थिए। उक्त कार्यक्रममा उपस्थित किसानहरुलाई सिचाईको पानी व्यवस्थापन गर्ने ठाउँहरुमा लगाउनका लागि सुन्तलाका कलमी र विजु बिरुवा वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र र सुन्तला सुपरजोन स्याङ्जाको विशेष सहयोगमा यस वर्ष भीरकोट साना किसान सहकारी संस्थाले किसान ओरेन्टेसन र फिल्ड तालिम गरी दुईपटक सुन्तलाको तालिम सन्चालन गरेको थियो।

उक्त संस्थाले यस वर्षको असार मसान्तसम्म भीरकोट नगरपालिकाको ५,६,७ र ८ वडाहरुमा ३० हजार सुन्तलाका विरुवा, आँप, लिची, कागती, कटहर, अम्बा लगायत फलफूलजन्य र घाँसजन्य ५० हजार विरुवा वितरण गर्ने लक्ष्य लिएको छ संस्थाका संस्थापक अध्यक्ष विश्वनाथ अर्यालले बताए।

उनका अनुसार कृषि ज्ञान केन्द्र स्याङ्जाको सहयोगमा ७५% अनुदानमा आलुको बीउ, रासायनिक मल, मकै धान लगायतका अन्न बालीको बीउ ५०% अनुदानमा वितरण गर्दै आएको छ। कृषि औजार, औषधि छिट्ने मेसिन, आरी, कटर,हलो लगायत विभिन्न सामाग्रीहरु वितरण गर्दै आएको उक्त सहकारीमा करिब १ हजार शेयर सदस्य छन्।

Share Post on Social media