स्याङ्जा जिल्लाको पूरानो सामुदायिक विद्यालय काजीमान हरिटीकाले गर्यो स्कूल बस सञ्चालन

असार २७/स्याङ्जा: स्याङ्जा जिल्लाको पूरानोमध्येको एक काजीमान हरिटीका माविले विद्यार्थीको सुविधाको लागि स्कूल बस सञ्चालनमा ल्याएको छ।

आज विद्यालयले बस भित्राउँदै गरिब तथा दुर्गम क्षेत्रबाट आउने विद्यार्थीको सुविधाको निम्ति बस सेवा सुरु गरिएको विद्यालयले जनाएको छ। हुनेखानेहरु विद्यार्थीहरु सुविधासम्पन्न बस चढेर सदरमुकाम पढ्न आईरहेको अवस्थालाई मध्यनजर गर्दै सदरमुकाम छेवैमा रहेको उक्त विद्यालयले समेत विद्यार्थी सुविधाकै निम्ति बस सेवा थपिएको जनाएको छ।

विद्यालयमा बस सेवा सञ्चालनका निमित्त पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्व प्रदेश मन्त्री मेखलाल श्रेष्ठ, सङ्घीय सांसद राजु थापा, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नेवा पोखरा स्याङ्जा सम्पर्क समिति पोखरा, विद्यालयका अध्यक्ष अनुप श्रेष्ठ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु श्रेष्ठ, वडाध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रधानाध्यापक, व्यवस्थापन समिति लगायतको सहयोग रहेको छ।

बस सेवा सञ्चालन भएपश्चात सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्ने, सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको अवस्थामा विद्यार्थी संख्या बढाउन सहज हुने र गरिब विद्यार्थीहरुलाई सुविधा पुग्ने जानकारी उक्त विद्यालयमा अध्यापनरत शिक्षक तथा विद्यालयका सूचना अधिकारी युवराज पौडेलले दिए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा इन्जिनियर अनुप श्रेष्ठ निर्वाचित भएदेखि नै विद्यालय सुधारका कामहरु भैरहेका छन्।

Share Post on Social media