प्राविधिक सहितको टोलीको अनुगमन पश्चात निष्कर्ष, “गुणस्तरमा कुनै हालतमा सम्झौता गर्नुहुँदैन”

असार ३१/जीवन अर्याल: प्राविधिक सहितको टोलीले आज कालोपत्रे हुँदै गरेको हेलु – अर्जुनचौपारी सडकखण्डमा निरीक्षण तथा अनुगमन गरेको छ।

कालोपत्रे गर्दै गर्दा ठेकेदार कम्पनीले जालझेल गरेको, गुणस्तरीय सामग्री प्रयोग नगरेको, नाला सरसफाई तथा व्यवस्थापन उचित रुपमा नगरेको, कालोपत्रे गर्ने कार्य नसकिँदै सडक भत्किएको लगायतका गुनासाहरु व्यापक रुपमा आएपछि आज अर्जुनचौपारी गाउँपालिका वडा नं १ चापस्वाँरामा भीरकोट तथा अर्जुनचौपारीका स्थानीयले आम भेला गरेका थिए। उक्त आम भेला मार्फत गाउँपालिकामा आफ्ना गुनासा सहित उपस्थित भएका स्थानीयले अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीसँग गहन छलफल समेत गरेका थिए।

स्थानीयसँग कुरा गर्दै गाउँपालिका प्रमुख प्रकाश तिवारीले उक्त बाटोको कार्य गरेबापतको सम्पूर्ण भुक्तानीको जिम्मेवारी पूर्वाधार विकास कार्यालय स्याङ्जाको रहेको बताउँदै पटकपटक आफूले पत्र नै काटेर बाटोको गुणस्तर कायम नभएकाले भुक्तानी रोक्न आग्रह गरेको बताए। पटकपटक नबन्दै स्थगित भएको उक्त सडक पछिल्लो समयमा बानियाँ कन्स्ट्रक्सनले बनाइरहेको थियो।

सडक निर्माणको क्रममा भीरकोट नगरपालिका वडा नं ७ स्थित बलमाटामा पर्खाल लगाउने क्रममा कमसल सामग्री प्रयोग गरी गुणस्तर फेरबदल गरेको आरोप लगाउँदै भीरकोट नगरपालिका वडा नं ७ का स्थानीयले निर्माण कार्य अवरुद्ध पारेका थिए। २ दिनसम्म निर्माण कार्य अवरुद्ध भएपछि आज पूर्वाधार विकास कार्यालय स्याङ्जाको प्राविधिकको टोलीले चेकजाँच पश्चात उक्त पर्खाल भत्काइदिएको छ।

अर्जुनचौपारी गाउँपालिकाको केन्द्र अर्जुनचौपारी बजारबाट गाउँपालिकाका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापा सहित प्राविधिक, स्थानीयहरु, ठेकेदार कम्पनीको तर्फबाट इन्जिनियर, पूर्वाधार विकास कार्यालय स्याङ्जाको प्राविधिक सहितको टोलीले आज सम्पूर्ण सडक स्थलगत अनुगमन र निरीक्षण गरी ४० ठाउँमा मर्मत तथा सम्भार गर्ने, पुनः पर्खाल लगाउने, नाला खन्ने र विस्तार गर्ने सहितका कुराहरु उल्लेख गरी तुरुन्त सुधार गर्न निर्देशन दिएको छ।

तोकिएको समयभित्र गुणस्तरीय सामग्री प्रयोग गरी बाटो निर्माण कार्य सम्पन्न नगरे भुक्तानी नहुने र ढिलासुस्ती गरेमा कारबाही गरिने जानकारी पूर्वाधार विकास कार्यालय स्याङ्जाले दिएको छ।

तर, स्थानीयहरु पूर्वाधार विकास कार्यालय स्याङ्जाको निर्देशनमा सन्तुष्ट छैनन्। उनीहरुले जिल्लामै ज्ञापनपत्र सहित उपस्थित हुने बताएका छन्। अर्जुनचौपारी गाउँपालिका, भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिकासँग समन्वय गरी ज्ञापनपत्र बुझाउने स्थानीयहरुको भनाई छ।

अर्जुनचौपारी गाउँपालिका प्रवेश गर्ने मुख्य सडक भएपनि यो सडकखण्ड भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको साझा सडक हो।‌

Share Post on Social media