अब डायलाइसिस गर्न पोखरा जानु नपर्ने, स्याङ्जामै सेवा सुरु

युवराज अर्याल/स्याङ्जा

सामान्य रुघाखोकी र ज्वरो आउदा पनि पोखरा नै जानुपर्ने बाध्यता अब स्याङ्जाबासीहरुमा  हट्दै गएको छ |

स्याङ्जा जिल्लाको सदरमुकाममा स्थापित जिल्ला अस्पतालले विशेषज्ञसहितको उपचार सेवा संचालन गरेपछि उक्त झन्झट कम हुदै गएको हो |

यही असार महिनामा मात्रै जिल्ला अस्पताल स्याङ्जाबाट ५६ ओटा नर्मल डेलिभरी र २६ जनाले अप्रेसनबाट बच्चा जन्माउने (LSCS) सुबिधा लिएको तथ्यांकबाट सहजै जिल्ला अस्पतालले प्रदान गरेको सेवामा स्याङ्जावासीको आकर्षण बढ्दै गएको अनुमान गर्न सकिन्छ|

     साउनको १९ गते विरुवा गाउँपालिकाबाट एक बालिका पेट दुखेर आइन्, बिरामीको जाँच र भिडियो एक्सरे गर्दा एपेण्डिसाईटीस भएको पत्ता लाग्यो, तुरुन्तै अप्रेसन गरेर हेर्दा एपेन्डिक्स कुहिन लागेको र फुट्न लागेको अवस्थामा पुगेको थाहा भयो  | यदि एपेन्डिक्स फुटेको भए र समयमै अप्रेसन नगरेको भए बिरामीको अवस्था निकै चिन्ताजनक हुन सक्थ्यो , १५ बर्षकी उक्त बालिकामा गरिएको अप्रेसन जिल्लाकै कम उमेरमा गरिएको एपेन्डिक्सको अप्रेसन थियो |

   साउन २३ गते हिजो जिल्लामा नै पहिलो पटक डायलाइसिस सेवाको सफल परिक्षण भएको र औपचारिक सेवा छिट्टै सुरु हुने अस्पतालका मे.सु. डा. सुशील मरासिनीले जानकारी दिएका छन् |

     २०७७ सालबाट डायलाइसिस सेवा, इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ्ग सिस्टम, इलेक्ट्रोनिक टिकट काउन्टर, अक्सिजन ग्यास प्लान्ट मेसिन, टेलिमेडिसिन, सेवा सहितका अन्य आधारभूत सेवाहरु २४ सै घण्टा दिईरहेको अस्पतालले ICU सेवासमेत निर्माण हुने क्रममा रहेको जनाएको छ |

Share Post on Social media