कालीगण्डकी गाउँपालिकाले विपन्न नागरिकहरुलाई घर दियो

साउन १३/नारायण प्रसाद कोइराला,स्याङ्जा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विपन्न परिवारलाई नयाँ घरहरू वितरण गरेको छ। पालिकाको वडा ४ र ५ का तीन घरपरिवारलाई २ कोठे घर निर्माण गरी आवास सुविधा प्रदान गरिएको हो।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा र उपाध्यक्ष सावित्री कोइरालाले संयुक्त रूपमा घरको चापी लक्षित परिवारका घरमुलीलाई प्रदान गरी घरहरु हस्तान्तरण गरेका हुन्।

गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले आव २०७९/८० को बजेटमा कार्यक्रम अन्तर्गत ३ वटा घर निर्माण गरी असाहाय, बेसहारा र घरवारविहीन परिवारलाई प्रदान गरिएको बताए। पालिकामा खरको छानो विस्थापित र विपन्न नागरिक आवास सुविधा अन्तर्गत ३ सय भन्दा बढी घर धुरी लाभान्वित हुने अध्यक्ष थापाले जानकारी दिए। नागरिकलाई खुशी र सुखी बनाउन अन्य विकासका पूर्वाधारसँगसँगै शिक्षा , स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष थापाको भनाई छ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै पालिकाका उपाध्यक्ष साबित्रा कोइरालाले नागरिको आवासको हक र बाँच्न पाउने अधिकारको सुविधा सुनिश्चित गर्न पालिकाले घर विपन्न र असाहय परिवारलाई घर निर्माण गरिदिएको बताइन्। नागरिकलाई खुशी र सुखी बनाउन पालिकाले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ।

प्रमुख प्रशासकीय प्रमुख देवेन्द्र पाण्डेयले विपन्न नागरिकको आवास सुविधा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी (२०७९) बमोजिम विपन्न परिवारको निम्ति घरहरू निर्माण गरिएको बताए। विपन्न र बेसहारा नागरिकलाई सुरक्षित र व्यवस्थित आवास सुविधा प्रदान गर्न पालिकाले हालसम्म ५ वटा त्यस्ता घरहरू लक्षित परिवारलाई हस्तान्तरण गरिसकेको छ। प्रति घर निर्माणको लागत करिब ४ लाख रहेको पालिकाले जनाएको छ।

शनिबार घर प्राप्त गरेकी लाभग्राही पार्वती पाण्डे घर प्राप्त गरेको खुशीमा केही बेर रोएकी थिइन्। बेसाहरा एकल महिला पाण्डेले खुशीका आँसु झार्दै गरिब र असाहयको साहरा बनेकोमा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद र आशिर्वाद समेत दिएकी थिइन्। उनले भनिन्, “२०५० सालदेखी दु:ख पूर्ण जीवन बिताइरहेका थिए। आज घर पाउँदा एकदमै खुशी छु। यी मेरा सुखका आँसु हुन्। अध्यक्षज्यु हजुर मेरा लागि भगवान् बनिदिनुभएको छ।अझै माथिल्लो तहको प्रतिनिधि बन्नुहोला, मेरो आशिर्वाद छ।”

Share Post on Social media