पहिलो पाइला नेपाल, स्याङ्जाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा लामिछाने

साउन २०/रामबहादुर रोका: पहिलो पाइला नेपाल स्याङ्जा शाखाको प्रथम अधिवेशन शनिबार पुतलीबजारमा सम्पन्न भएको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित होटल मर्करीको सभाहलमा आयोजना गरिएको अधिवेशनमा पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले पहिलो पाइला नेपाल स्याङ्जाले छोटो समयमै सामाजिक साथै रचनात्मक कार्यमा सरिक भएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो ।


अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले संस्थालाई अझै सशक्त रुपमा अगाडि बढाउँदै सामाजिक कार्यमा योगदान दिने अपेक्षा गर्दै सकारात्मक र राम्रा काममा पुतलीबजार नगरपालिका संस्थाको साथमा रहने नगर उपप्रमुख अर्यालले बताउनुभयो । त्यस्तै कार्यक्रममा पहिलो पाइला नेपाल स्याङ्जाको संस्थापक अध्यक्ष स्मृति काफ्लेले स्याङ्जामा संस्था स्थापना भएदेखि नै सामाजिक काममा अग्रसर रहेको , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको समयमा समेत औषधिहरु वितरण गरेको , न्यून आयस्रोत भएकाहरुलाई जतिसक्दो खाद्यान्न , लत्ताकपडा लगायतका अत्यावश्यक सामानहरु वितरण गरेको कुरामा प्रकाश पार्नुभयो ।

उहाँले स्याङ्जामा संस्था जन्माउने काम गरेको र यस संस्थालाई थप पालनपोषण गर्नका लागि सामुहिक सहयोग चाहिने बताउँदै विगतका समयमा थुप्रै रचनात्मक कार्य गरेकोमा जोड दिनुभयो । उहाँले विभिन्न कार्यक्रम जस्तै हाजिरीजवाफ कार्यक्रम ,भाग्य बोक्ने झोला वितरण , न्यानो माया अभियान , कोभिडकै समयमा मर्कामा परेका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण , स्वास्थ्य , शिक्षा , सरसफाइमा अभियान समेत चलाएको बताउनुभयो ।

उक्त कार्यक्रममा पिपिएन केन्द्रीय उपाध्यक्ष दिपिका पराजुली , स्याङ्जा शाखाका सल्लाहकार चन्द्रमणी पौडेल , पोखरा शाखाका अध्यक्ष विकाशजंग कुँवर , पोखरा शाखाका निवर्तमान अध्यक्ष रन्जित दनै , पाल्पा शाखाका सचिव दिनेश थापाले सुभकामना मन्तव्य राख्नुभएको थियो भने स्याङ्जा शाखा संयोजक सन्ध्या लामिछानेले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

पुतलीबजार नगरपालिकाकी उप-प्रमुख देवी अर्यालको प्रमुख आतिथ्यता , संस्था संयोजक सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पवन मरासिनीले गरेका थिए ।

उक्त अधिवेशनले सन्ध्या लामिछानेको नेतृत्वमा पहिलो पाइला नेपाल स्याङ्जाको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा पवन मरासिनी र समिक्षा सुवेदी , सचिवमा युवराज तिवारी, सहसचिवमा गोपि सुवेदी , कोषाध्यक्षमा सुवास कोईराला , सह-कोषाध्यक्षमा शुसिला पाण्डे , सदस्यहरुमा झरना खड्का , सुजिन श्रेष्ठ , बादल लामिछाने , आशिक नेपाली , यादव पौडेल र विशाल ढुङ्गाना रहनुभएको छ । त्यस्तै सविन रेग्मी , असिम भण्डारी , शिव रेग्मी , सुरज पाण्डे , दिपिका अर्याल र तुलसी पौडेल पनि सदस्य रहनुभएको छ ।

Share Post on Social media