भीरकोट जेसिजले गर्यो ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

साउन ३२/खबरकलम संवाददाता: “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्र बोकेर हिँडेको भीरकोट जेसीजको आयोजनामा जिल्लामै विभिन्न किसिमका सवारी दुर्घटना बढिरहेको समयमा आज सचेतना कार्यक्रम सम्पन्न भएको छ।

भीरकोट जेसीजको आयोजना,जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा भीरकोट नगरपालिकाको सहजीकरणमा भीरकोट, पुतलीबजार ,अर्जुनचौपारी तथा वालिङ्ग नगरपालिकामा विभिन्न सवारी साधन सञ्चालन गर्दै आएका सवारी चालक तथा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक नियम, चालक, यात्रु, सवारीधनी, समाज तथा यससँग सम्बन्धित विभिन्न पक्षहरूको कर्तव्यका विषयमा भिजुएल रुपमा प्रस्ट पारिएको थियो।

भीरकोट जेसिज वर्ष 2023का अध्यक्ष जेसी सुन्दर कोइरालाको अध्यक्षता तथा भीरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रवीण आचार्यले प्रमुख प्रशिक्षकको भूमिका निर्बाह गर्दै सवारी दुर्घटनाका कारणहरू तथा समाधानका उपायहरू विषयमा सचित्र प्रकाश पारेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माचार्यले सवारी चालकहरुले सावधानी अपनाउने हो भने धेरै दुर्घटनाहरु न्यूनीकरण हुँदै जाने,सहरको सुन्दरता कायम राख्न तथा बजार क्षेत्रमा हुने दुर्घटनाको डर घटाउन व्यवस्थित पार्किङ गर्नुपर्ने लगायतका धारणाहरू व्यक्त गरे।

करिब डेढ सयको संख्यामा विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थित रहेको उक्त कार्यक्रममा नगर उपप्रमुख भगवती अर्याल, नगर प्रवक्ता दीपेन्द्र केसी, नेकपा एमाले भीरकोट कमिटीका अध्यक्ष विश्वनाथ अर्याल, भीरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष नुवादत्त अर्याल, भीरकोट जेसिजका निवर्तमान अध्यक्ष जेसी कृष्ण प्रसाद पौडेल, पूर्व अध्यक्ष जेसी प्रसुन मगर लगायतका वक्ताहरुले बढ्दो सवारी दुर्घटनाका विषयमा आफ्ना धारणा राखेका थिए।

भीरकोट जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसी विमला रेग्मीको स्वागत मन्तव्यसँगै सुरुवात भएको कार्यक्रमको सञ्चालन भने महासचिव जेसी शिव खनालले गरेका थिए। उक्त ट्राफिक सचेतना कार्यक्रम भीरकोट सिटी हलमा सम्पन्न भएको हो।

Share Post on Social media