निजामती सेवा दिवस वहिष्कार गर्दै आन्दोलनमा कालीगण्डकी र विरुवा गाउँपालिकाका कर्मचारी

भदौ २२/स्याङ्जा:

निजामती सेवा दिवस बहिष्कार गर्दै कालीगण्डकी र विरुवा गाउँपालिकाका कर्मचारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्।

हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भई संघीय संसदमा दर्ता हुन लागेको संघीय निजामती ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको हकहित, वृत्तिविकास र कर्मचारीबीच कायम हुनुपर्ने समानता नभएको भन्दै कर्मचारीले आन्दोलन थालेका छन् ।

सांकेतिक विरोध स्वरूप हातमा कालोपट्टी बाँधेर विरोध जनाउने, निजामती सेवा दिवस नमनाउने तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णयका साथ स्याङ्जा जिल्लाका कालीगण्डकी गाउँपालिका र विरुवा गाउँपालिकाका कर्मचारीले १३ बुँदे विज्ञप्ति सहित आन्दोलनमा उत्रेका छन् ।

संघीय निजामती ऐन नभई एकीकृत निजामती ऐन ल्याउनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषा भित्र समेटीनुपर्ने, कर्मचारीको अन्तरतह सरुवा हुनुपर्ने, निजामती अस्पतालमा सबै कर्मचारीलाई समेटिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको हुनुपर्ने लगायतका माग राख्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले आफ्नो मागप्रति गम्भीर हुन र सम्बोधन गर्न अनुरोध समेत गर्दै प्रमुख प्रशासकीय अधिकृत मार्फत ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा समेत बुझाएका छन् I  कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले निजामती सेवा दिवसलाई अपनत्व र ममत्व स्वीकार गर्न नसकेको अवस्थामा स्थानीय निकायको अग्रभागमा रही कार्यसम्पादन गरिरहेका कर्मचारीको मर्म र भावना विपरित जान नसकेको व्यहोरा स्पष्ट पारेका छन् ।

Share Post on Social media