विद्याभूषण पदक अर्थात राष्ट्रिय शिक्षा पुरस्कारद्वारा मीनप्रसाद कोइराला सम्मानित

असोज ३/स्याङ्जा: कालिका माध्यामिक विद्यालय झापाकोटका अध्यक्ष मीनप्रसाद कोइरालालाई विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएका छन्।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको वेवसाइटमा जनाइए अनुसार स्याङ्जा जिल्लाको काजीमान हरिटीका माविका विव्यस अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठसँगै कोइरालाले उक्त पुरस्कार प्राप्त गरेका हुन्। कोइराला यसअघि पनि कालिका माविमा विसं. २०६६ देखि २०७० सम्म अध्यक्ष भैसकेका हुन्।

उनले आफ्नो अघिल्लो कार्यकालमा कार्यालय तथा कक्षा एघार र बाह्रका विद्यार्थीले पढ्ने भवन /वातावरण मैत्री शौचालयको भवन/ प्राध्यापक तथा पुस्तकालयको भवनको निर्माण र विद्यार्थी-मैत्री फर्निचरको व्यवस्थापन गर्दै विद्यालयको भौतिक व्यवस्थापनमा रचनात्मक भूमिका खेलेका थिए।

शिक्षा तर्फ २०६६ सालमै विद्यालयका हरेक तहमा तहगत इन्चार्जको व्यस्थापन गर्दै कक्षा नर्सरीमा अडियो भिजुअलद्वारा सिकाइ/विद्यालयमै कम्प्युटर ल्याबको व्यवस्था, ईन्टरनेटको प्रयोग मार्फत सिकाइ विकासमा प्रभावकारी भूमिका खेलेका थिए।

उनले व्यवस्थापन समितिको दोश्रो इनिङमा विद्यालय परिसरभित्रै दिवाखाजा र चमेनागृह तथा स्टेशनरीको व्यवस्थापनका साथै भवनका जीर्ण झ्यालढोका मर्मत सम्भार र झन्डै पचास सेट नयाँ डेस्क बेन्चको व्यवस्थापन गरिसकेका छन्।

हालै मात्र उनले विद्यार्थी र शिक्षकलाई एक हजार भन्दा धेरै रैथाने बाह्रमासे सुनकागतीको विरुवा र दुई हजार डाले घाँसको विरुवा निशुल्क उपलब्ध गराएका थिए। उनी स्याङ्जा जिल्ला सहकारी संघका सचिव हुन् भने नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य हुन्। उनी समाजमा राजनैतिक क्रियाकलाप भन्दा सामाजिक क्रियाकलाप र सकारात्मक भूमिकाले चर्चित छन्।

Share Post on Social media