स्याङ्जा सहयोग समाजको पाँचौ विश्व सम्मेलन एवं आठौं अधिवेशन स्याङ्जामा हुँदै

राम बहादुर रोकाहा/मङ्सिर ०६ : स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको पाँचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जामा हुने भएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित जिल्ला समन्वय समितिको सभाहलमा यही मङ्सिर ९ गते विश्व सम्मेलन तथा अधिवेशन हुने स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो ।

अध्यक्ष अर्यालले अधिवेशनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने बताउनुभयो । उक्त विश्व सम्मेलनमा कुल ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३४२ जनाको सहभागिता रहने र कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट गर्ने अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो। उहाँले संस्थाको रु. १ करोड अक्षयकोष स्थापना भएको र समिती तथा विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुको योगदानले हालसम्म जिल्लामा ठुला विपत्तिहरुमा , समस्या समाधान एवं विभिन्न राहत, सहयोगमा करिब रु. ८ करोड रकम सहयोग गरिसकेको बताउनुभयो।‌

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले आफ्नो जन्मभुमिबाट टाढा रहेतापनी विश्वको कुना-कुनामा रहेर जन्मथलोको समस्या समाधान, सांस्कृतिक विकास, आर्थिक तथा सामाजिक विकासमा समाजले सहयोग गरेको कुरालाई प्रशंसा गर्दै सदैव निरन्तरता दिन आग्रह गर्नुभयो । सोही कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा , कोषाध्यक्ष एक बहादुर गोदार(रमेश) प्रेस युनियन स्याङ्जाका पुर्व अध्यक्ष प्रदिप कोइराला लगायतले जिज्ञासा एवम् सुझावहरु राख्नुभएको थियो । उक्त अधिवेशन निर्वाचनको अधिवेशन पनि रहेकाले निर्वाचन समितिका संयोजक खेम काफ्ले तथा सदस्य योगेन्द्र थापाले निर्वाचन सम्बन्धी जानकारी गराउँदै निर्वाचन प्रक्रिया शुरु भइसकेको बताउनुभयो।

उक्त अधिवेशनले आगामी कार्यकाल सन् २०२३-२५ का लागि अध्यक्ष सहित ३१ सदस्यीय नयाँ नेतृत्वको चयन गर्ने सोही पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको संचालन संस्थाका महासचिव मुक्ती सुवेदीले गर्नुभएको थियो ।

Share Post on Social media