स्याङ्जामा कर सप्ताह,” खिलुङ कालिका कन्सट्रक्सन उत्कृष्ट करदाता, सुवास उत्कृष्ट कर्मचारी”

जीवन अर्याल/स्याङ्जा: करदाता सेवा कार्यालय स्याङ्जाले विभिन्न कार्यक्रम गरी १२ औं कर सप्ताह समारोह सम्पन्न गरेको छ। 

जिल्ला समन्वय समितिको सभाहलमा आज करदाता सेवा कार्यालय स्याङ्जाले उत्कृष्ट करदातालाई सम्मान, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा करसम्बन्धी वृत्तचित्र निर्माताहरुलाई सम्मान सहित वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको हो। 

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्मा विशिष्ट अतिथि रहेका थिए। विभिन्न पालिकाका जनप्रतिनिधि, लेखा अधिकृतहरु, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, नेपाल च्याम्बर अफ कमर्स स्याङ्जा प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा करसम्बन्धी जानकारी दिने वृत्तचित्र निर्माताहरुलाई सम्मान समेत गरिएको थियो।  रोशनी केसीको समूह करसम्बन्धी भिडियो चित्र बनाए बापत सम्मानित भएका थिए। 

उत्कृष्ट करदाताको रुपमा बोल्दै खिलुङ कालिका कन्सट्रक्सन प्रालिका तर्फबाट प्रबन्ध सञ्चालक दीपक अर्यालले राज्यलाई कर तिर्न पाउँदा र जिल्लाकै उत्कृष्ट करदाता बन्न पाउँदा खुशी लागेको र कर शिक्षालाई हरेक करदातासम्म पुर्याउन आग्रह समेत गरे। उनले आफ्नो संस्थालाई उत्कृष्ट करदाताको स्थानमा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका थिए।

“देशको विकासमा करको भूमिका” शीर्षकमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल त्रिभुवन आदर्श मावि स्याङ्जाका क्रमश: ओजस्वी केसी, आयुष्मा ढकाल र जिनिशा केसीलाई सम्मान सहित पुरस्कार समेत उक्त कार्यक्रममा प्रदान गरिएको थियो। 

उक्त कार्यक्रममा बोल्दै च्याम्बर अफ कमर्स स्याङ्जाका राजु अधिकारी र उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठले जरिवाना रहित करको दायरा बनाउन र करप्रणालीमा हुने झण्झट हटाउन आग्रह गरेका थिए। उद्योगी व्यवसायीलाई आर्थिक रुपले सम्पन्न बनाउन सक्ने वातावरण भएमात्र कर प्रणाली व्यवस्थित हुने उनीहरुको भनाइ थियो। 

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले प्रविधिको प्रयोग गर्दै घरमै बसेर पनि करसम्बन्धी काम गर्न सकिने जानकारी गराउँदै करदातालाई कर तिर्न र उक्त कर पनि समयमै तिर्न सक्ने बनाउनका लागि करमा जरिवानाको व्यवस्था भएको बताए। करदाता नै देशनिर्माणका सच्चा पहरेदार भएको बताउँदै कर अधिकृत शर्माले अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको कारणले करदातालाई करप्रति, राज्यप्रति इमान्दार बन्न अनुरोध समेत गरे। 

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आज सम्पन्न कार्यक्रमबाट आफूले नागरिकको बुझाइमा राज्य र यसका संभावना तथा कमजोरी नजिकबाट जान्ने वातावरण पाएको बताए। सम्पूर्ण जिल्लावासी करदातालाई व्यवशायिक सफलता र उन्नयनको शुभकामना दिँदै प्रजिअ घिमिरेले करप्रणाली बलियो, राज्यलाई लक्ष्य प्राप्ति र नागरिकलाई कर सुरक्षा व्यवस्थाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए। 

उत्कृष्ट कर्मचारी सुवास शर्मा मरासिनी

करदाता सेवा कार्यालय स्याङ्जाका कर अधिकृत विजय भुषालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम ममता पंगेनीले सञ्चालन गरेकी थिइन्। जिल्ला कर अधिकृतको रुपमा विजय भुषाल जिल्लामा आएपछि करदाता सेवा कार्यालय स्याङ्जाले कर सचेतना एवम् अन्तर्क्रिया कार्यक्रम विभिन्न पालिकाहरुमा गरिरहेको छ। 

नागरिकलाई कर र कर तिर्दा हुने यसका फाइदाबारे जानकारी दिएर राजस्व छली र चुहावटबाट जोगाउन आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय भएर लाग्ने भनाइ कर अधिकृत विजय भुषालको छ। उनले बजार अनुगमन, पान वितरण र व्यवशाय दर्ता प्रकृयालाई पनि तदारुकताका साथ अघि बढाइरहेका छन्।

Share Post on Social media