चापाकोट नगरपालिकामा कर सहायता कक्ष स्थापना
सुनिल न्यौपाने, स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकामा कर सहायता कक्षको स्थापना गरिएको छ।
नागरिकहरूलाई आफ्नै स्थानीय तहबाट कर सम्बन्धी सोधपुछ तथा सहायता प्रदान गर्नको लागि करदाता सेवा कार्यालय स्याङ्जा र पालिकाको समन्वयमा कर सहायता कक्षको स्थापना गरिएको हो ।
“ कर प्रशासन प्रविधिमैत्री बन्दै गएको वर्तमान परिप्रेक्षमा नागरिकहरूमा कर सम्बन्धी वित्तीय र डिजिटल साक्षरता नहुँदा सानो कामको लागि पनि करदाता सेवा कार्यालय जानुपर्ने बाध्यता अन्त्य गर्न कर सहायता कक्षको स्थापना गरिएको हो ।” करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालले भने, “पालिकाले तोकेको कर्मचारीबाटै नागरिकहरूले कर सम्बन्धी वित्तीय र प्राविधिक विषयमा पर्याप्त जानकारी प्राप्त गर्न सक्नेछन् ।”
चापाकोट नगरपालिकाको ३ जना कर्मचारीलाई कर सहायता कक्षको फोकल पर्सनको जिम्मेवारी दिएको बताउँदै कर कार्यालयसँग सम्बन्धित सम्पूर्ण कागजात र अनलाइन सेवाका लागि नागरिकहरूलाई उनै कर्मचारीले सहजीकरण गरिदिने तिवारीले बताए ।
नगरपालिका प्रमुख देव बहादुर खाणले जनतालाई आफ्नै स्थानीय तहमा कर सम्बन्धी सम्पूर्ण जानकारी दिन र आवश्यकता अनुसार सहजीकरण गर्न पालिकाको पहलमा कर सहायता कक्षको स्थापना गरिएको बताए । कर सहायता कक्षबाट स्थानीय स्तरमा कार्यरत आमा समुह र युवा क्लब बढी लाभान्वित हुने खाणले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०र८१ भित्रै आवश्यकता अनुसार जिल्लाका ११ वटै स्थानीय तहमा कर सहायता कक्ष स्थापना गर्ने तयारी भैरहेको करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख भुसालले जानकारी दिए । पालिकामा कर सहायता कक्ष स्थापना हुनुलाई संघ र स्थानीय तहबीच हुनुपर्ने समन्वयको रूपमा बुझ्नुपर्ने भुसालले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्