चापाकोटको गण्डकी बेशी सहकारी संस्थाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सुनिल न्यौपाने,स्याङ्जा- गण्डकी बेशी वचत तथा ऋण सहकारी संस्था
लिमिटेड चापाकोट ९ ले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सहकारीले चापाकोट ९ सुन्तलीटार स्थित गंगालाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

जाडो समय शुरु हुँदै गर्दा विद्यार्थीलाई पढ्नका लागि थप हौसला मिलोस् भन्ने हेतुले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको सहकारीका अध्यक्ष बिन्दु कोइरालाले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा(स्विटर) वितरण गरिएको अध्यक्ष कोइरालाले बताउनुभयो ।

अध्यक्ष कोइरालाले भन्नुभयो, ‘अधिकांश दलित समुदायका विद्यार्थीहरु अध्ययनरत विद्यालयमा जाडो मौसम सुरु हुँदै गर्दा पठनपाठनका थप सहजता होस् भनी न्यानो कपडा वितरण गरेका हौँ ।

हामीले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सामाजिक कार्य गर्दै आएका छौँ ।’ न्यानो कपडा वितरण गर्दै चापाकोट नगर प्रमुख देबबहादुर खाणले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वशक्तिमा आएर न्यानो पोशाक वितरण गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै नगर प्रमुख खाणले विद्यालयमा अधिकांश दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी अध्ययनरत रहेकाले जाडो समयका लागि न्यानो पोशाकले विद्यार्थीलाई पठन क्रियाकलापमा थप उर्जा मिलेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरण्यलाल आचार्य, नगर उप प्रमुख इशा राना , चापाकोट ९ का वडा अध्यक्ष कृष्ण सुबेदी, सहकारीका प्रबन्धक हरी डोटेल, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई तथा सहकारीका संचालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

Share Post on Social media