विश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा पृथ्वी जयन्तिको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न
पौष २७/स्याङ्जा: विश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा “नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता भीरकोट नगरपालिका वडा नं .४ स्थित छायाँक्षेत्र मन्दिरमा सम्पन्न गरिएको जानकारी विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए। कार्यक्रमको अध्यक्षता विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेलले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता भीरकोट नगर प्रवक्ता एवम् वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसीले गरेका थिए।
यस्तै विशिष्ट अतिथिमा भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनाल, वालिङ नगरपालिका वडा नं ११ का वडाध्यक्ष डण्डु पंगेनी, विश्व हिन्दु महासङ्घ भीरकोट उपाध्यक्ष विष्णुमाया काफ्ले , विश्व हिन्दु युवा संघ जिल्ला सह प्रबक्ता कुशल बस्याल, जिल्ला सदस्य एवम् कार्यक्रम संयोजक बबिन पाठक लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि दीपेन्द्र केसीले पृथ्वीनारायण शाहले देश एकीकरणमा ठूलो भूमिका खेलेको भन्दै उनले पृथ्वीनारायण शाह सधैँ हाम्रो मन मुटुमा रहने कुरा व्यक्त गरे। पृथ्वीनारायण शाहको सम्मानमा विश्व हिन्दु युवा संघ स्याङ्जाले धेरै काम गरेको भन्दै प्रशंसा समेत गरे।
यस्तै भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष एवम् विश्व हिन्दु महासङ्घ स्याङ्जाका अध्यक्ष नन्दु खनालले पृथ्वी जयन्तीमा यस्तो काम गरेकोमा विश्व हिन्दु युवा संघलाई धन्यबाद ज्ञापन गर्दै पृथ्वीनारायण शाहको बारेमा चर्चा गरेका थिए।
कार्यक्रमका अध्यक्ष नवराज पौडेलले पृथ्वीनारायण शाहको कदर सबै नेपालीले गर्नुपर्ने बताउँदै उनले नेपालीलाई एकतामा बाँध्ने सुत्र भनेको नै पृथ्वीनारायण शाहको एकीकरण भएको र आफूहरुको पहलमा स्याङ्जाबाट नै पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदाको सुरुवात गरेको तथा अहिले सरकारले दिएकोमा धन्यवाद ज्ञापन गरे। कार्यक्रममा बिष्णुमाया काफ्ले ,कुशल बस्याल लगायतले मन्तव्य राखे।
प्रतियोगितामा प्रथम स्थान दहथुम माविकी विद्यार्थी सम्झना अधिकारी, द्वितीय स्थानमा घण्टे माविकी विद्यार्थी सुस्मिता शर्मा, तृतीय स्थानमा महेन्द्र ज्योति माविकी विद्यार्थी बबिता सार्की र राजेन्द्र भवानी माविकी विद्यार्थी कृतिका पंगेनीले हासिल गरेका थिए। कार्यक्रममा वालिङ , भीरकोट र अर्जुनचौपारीका एक दर्जन विद्यालयले सहभागीता जनाएका थिए। कार्यक्रममा निर्णायक मिलन समीर र राजेन्द्र खनाल रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य विश्व हिन्दु युवा संघ स्याङ्जा सदस्य एवम् कार्यक्रम संयोजक बबिन पाठकले राखेका थिए भने कार्यक्रमको संचालन सुदिप पौडेलले गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्