देशकै पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुवारी जोड्ने पक्की पुल शिलन्यास

माघ १२/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका र देशको पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुवारी जोड्ने गरी घट्टेखोलामा पक्की पुल शिलन्यास गरिएको छ। 

आज एक कार्यक्रमका बीच संघीय सांसद् राजु थापा र अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले संयुक्त रुपमा उक्त पुलको शिलान्यास गरेका हुन्। 

१० मिटर लम्बाई र  साढे पाँच मिटर चौडाई कायम हुने गरी निर्माण गर्न लागिएको उक्त पुल हुने अँगेरे-भँगेरे निर्माण सेवा अर्जुन चौपारीले १ करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निर्माण गर्न लागेको हो।

पुल सङ्घीय सरकारको ५० लाख र अर्जुनचौपारी गाउँपालिकाको बाँकी वजेटमा निर्माण हुन लागेको हो । निर्माण कम्पनीसँग एक वर्षमा काम सक्ने गरी यही पुस १२ गते सम्झौता गरिएको थियो । 

स्मरण रहोस्, यही खोलामा पक्की पुल नहुँदा चार वर्ष पहिले सहरेखोला पुल शिलान्यासमा उपस्थित भएका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको गाडी समेत खोलाले बगाएको थियो। 

यस पुलको निर्माण पश्चात अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकालाई जोड्न सहज हुनेछ। 

Share Post on Social media