अर्जुनचौपारी गाउँपालिकाले ओठ तथा तालु फाटेका बिरामीको निशुल्क उपचारार्थ स्वास्थ्य शिविर आयोजना गर्ने

खबरकलम डेस्क/माघ १७: अर्जुनचौपारी गाउँपालिकाले ओठ तथा तालु फाटेका बिरामीको निशुल्क उपचारार्थ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

बि एण्ड बि अस्पतालको आयोजना र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा अर्जुनचौपारी गाउँपालिकाभित्र बसोवास गरिरहेका ओठ तथा तालु फाटेका बिरामीको निशुल्क स्क्रिनिङ तथा उपचार गर्ने गरी यही माघ २६ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो। 

अर्जुनचौपारी गाउँपालिकाको वडा नं २ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरी जन्मजात ओठ तथा तालुमा समस्या भएका बिरामीको थप उपचारार्थ बि एण्ड बि अस्पताल काठमाडौंमा पठाउने र त्यहाँ उपचारका सम्पूर्ण प्रक्रिया निशुल्क हुने अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ। 

अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माका अनुसार बिरामीको काठमाडौं आउने जाने खर्च, बिरामी कुरुवाको काठमाडौँ बसाइको क्रममा हुने सम्पूर्ण खर्चहरु, बिरामीको सर्जरी तथा औषधि समेत निशुल्क उपलब्ध गराइने छ।

Share Post on Social media