पाल टाँगेर पोल अड्याईयो, यात्रामा जोखिम!

जीवन अर्याल/खबरकलम

वि.सं. २०२१ सालमा बनेको सुनौली देखि पोखरासम्म जोड्ने १८१ किमी लम्बाई भएको राजमार्ग हो सिद्धार्थ राजमार्ग। भैरहवा,बुटवल,पाल्पा, स्याङ्जा हुँदै यो राजमार्ग पोखरासम्म पुग्छ। जोड्छ, तराई र पहाडलाई।  त्यतिमात्र नभई नेपाल र भारतलाई पनि यसैले जोड्छ। दैनिक १००० बढी साना ठूला सवारीसाधन यही बाटो हुँदै ओहोरदोहोर गर्छन्। 

त्यही राजमार्गको माथि-माथि बिजुलीका तारहरु टाँगीएका छन्। ठूला-ठूला बिजुलीका खम्बाहरु छन्। ती खम्बाहरु देशकै ठूलो जलविद्युत परियोजना काली गण्डकी जलविद्युत परियोजनाका हुन्। जसको उत्पादन क्षमता १४४ मेगावाट रहेको छ। 

देशको यति ठूलो जलविद्युत आयोजनाको लापरबाही भने भनी साध्य/लेखी साध्य छैन।  सिद्धार्थ राजमार्गमा पर्ने गल्याङ नगरपालिकाको केन्द्र गल्याङ बजार नपुग्दै करिब ३ किमी वर बाटो माथिबाटै एक ठूलो पहिरो गएको छ। बाटोसमेत पुर्ने गरी खसेको उक्त पहिरो पन्छाउन नगरपालिकाले कुनै तदारुकता देखाएको छैन। बाटोमा थुप्रिएको पहिरोको कारण हुन सक्ने संभावित दुर्घटना बारे सडक बिभाग पनि यसमा मौन छ।  र पहिरोसँगै उच्च भोल्टेजको बिजुलीको तार टाँगीएको एक खम्बा झन्डै लड्ने अवस्थामा पुगिसकेको छ। यो बाटो हुँदै यात्रा गर्ने हरेक सवारीसाधन चालकले कम्तीमा एकपल्ट उक्त खम्बामा नजर लगाउनु पर्छ, कतिखेर खम्बा आफूमाथि झर्छ र ज्यान लिन्छ भन्ने त्रासमा गुज्रिदै हिड्नुपरेको सवारीसाधन चालक र यात्रुहरुको भनाई रहेको छ। 

लड्न लागेको उक्त बिजुलीको खम्बालाई जलविद्युत परियोजना कार्यालयले रातो त्रिपाल लगाएर दुई चार वटा ढुंगाले टेको दिएर राख्न खोजे जस्तो सहजै देख्न सकिन्छ। त्यति उच्च गतिको विद्युत बग्ने उक्त तार बोकेको खम्बालाई यसरी टेको दिएर अड्याई राख्नु कुन हदसम्मको लापरबाह हो र यसलाई नियमन गर्ने निकाय कति हदसम्म बेखबर छन् ? भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। 

जनसाधारणको जीवनसँग प्रतक्ष्य सरोकार राख्ने यस्ता चीजहरुसँग नियमनकारी निकाय बेखबर हुनु साँच्चै दुःखलाग्दो कुरा मात्र नभई खेदजनक पनि छ। 

Share Post on Social media