स्याङ्जामा लापसे गरी सवारी चलाउने ६ जना चालक पक्राउ


राम बहादुर रोकाहा/चैत्र २०: लागू पदार्थ सेवन गरेर सवारी चलाउने ६ जना चालकलाई स्याङ्जामा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ का ४७ वर्षीय पदम बहादुर डिसुवा, कास्की पोखरा महानगरपालिका-२९ का २६ वर्षीय विशाल गुरुङ, पोखरा-१९ का ४८ वर्षीय होम बहादुर खत्री, स्याङ्जा वालिङ्ग नगरपालिका-११ का ३६ वर्षीय साजन थापा, पुतलीबजार नगरपालिका-१ का २६ वर्षीय अजय नेपाली र फेदिखोला गाउँपालिका-२ का ३७ वर्षीय अमृत मिजार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले पुतलीबजार नगरपालिका-१ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा संयुक्त चेकिङ गरिएकोमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त राजमार्गमा गुड्ने सवारी साधन चालकहरुको HENSO TEST KIT द्वारा लागूऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा ६ जना चालकलाई लापसे सेवन गरि सार्वजनिक सवारी साधन चलाएकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका चालकहरूले लागूऔषध गाँजा सेवन गरि सवारी साधन चलाएको हुँदा नियन्त्रणमा लिएर “सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा” मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाएको डिएसपी रानाले बताए ।

Share Post on Social media