स्याङ्जामा गस्ती गएका प्रहरीमाथी कुटपिट, चौकी इन्चार्जलाई कुट्ने दुई युवा पक्राउ

राम बहादुर रोकाहा/वैशाख २३: स्याङ्जाको वालिङ नगरपालिका -१३ बायाँटारी स्थित प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन सिंह माथी गस्ती जाँदा कुटपिट भएको छ ।

शनिबार राती गस्तीमा रहेका सिंहलाई युवाहरुले अन्धाधुन्ध कुटपिट गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

कुटपिट गर्ने वालिङ् नगरपालिका -१२ का काजी गुरुङ र सुदिप गुरुङलाई पक्राउ गरिएको डिएसपी रानाले बताए । उनले टाउकोमा चोट लागि घाइते भएका चौकी इन्चार्ज सिंहको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।

उक्त घटनामा संलग्न भनिएका अर्का युवा रविन गुरुङ पनि घाइते भएको र उपचार भइरहेको डिएसपी रानाले बताए ।
सुरक्षाको लागि खटिएका प्रहरी अधिकृतलाई नै कुटपिट गरि गम्भीर घाइते बनाएका दुई युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share Post on Social media