क्वारेन्टाइन बनाइएका विद्यालय भीरकोटले गरायो सफाई।
जीवन अर्याल/खबरकलम
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले आफ्नो क्षेत्रमा क्वारेन्टाइन बनाइएका सबै विद्यालयको आज दमकलद्वारा निर्मलीकरण गरेको छ। विगत लामो समयदेखि क्वारेन्टाइन स्थल बनाइएका भीरकोट नगरपालिकामा अवस्थित निजी तथा आवासीय विद्यालयलाई नगरपालिका आफैले आफ्नो सक्रियतामा दमकलबाट किटनाशक औषधि र पानीको प्रयोग गरी निर्मलीकरण गरेको हो।
भीरकोट नगरपालिकाले क्वारेन्टाइन स्थल बनाएका बालज्योति आवासीय मा.वि. , भूपु सैनिक आवासीय मा.वि. , बालोदय आवासीय मा. वि. र कन्साइन्स आवासीय मा. वि. लाई एकैसाथ वालिङ नगरपालिकाको दमकल प्रयोग गरी पूर्ण रुपमा सेनिटाइज्ड गरेको हो।
नगरपालिकाले यसअघि नै आफ्नो छुट्टै क्वारेन्टाइन स्थल बनाइसकेको छ। र, अबका दिनमा विद्यालयलाई फेरी क्वारेन्टाइन स्थल नबनाइने र विषम परिस्थितिमा नगरपालिकाप्रति विद्यालयले देखाएको सदासयतामा नगरपालिका आभारी रहेको प्रतिक्रिया पनि नगरपालिकाले दिएको छ।
यससँगै भीरकोट नगरपालिकाका सम्पूर्ण निजी तथा आवासीय विद्यालयहरु क्वारेन्टाइन मुक्त भएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्