स्याङ्जामा स्नातक तहमा आइटी पढाई हुने एकमात्र क्याम्पस, वालिङ बहुमुखी क्याम्पस
भदौ ९/वालिङ : स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको वालिङ बहुमुखी क्याम्पस वालिङले स्नातक तहमा आईटी कोर्ष (बिआईसिटीई) सञ्चालन गरिरहेको छ।
क्युएए मान्यता प्राप्जेत देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसले न्युनतम शुल्कमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफ्नै घरगाउँमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर दिने गरी यो कोर्ष बिगत ३ वर्षदेखि सञ्चालनमा ल्याएको हो। कक्षा ११/१२ मा जुनै विषय लिएका विद्यार्थीले यो विषयमा भर्ना हुन पाउने गरी शिक्षा संकायमा सञ्चालन गरिएको यो कोर्षको हाल वालिङ बहुमुखी क्याम्पसमा पाँचौं सेमेस्टर चलिरहेको छ।
त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ। हालसम्म कुनै पनि निजी कलेजले यो कोर्स सञ्चालन गरेको छैन ।
के हो शिक्षा संकायमा सञ्चालन गरिएको कोर्ष बीआईसीटीई ?
सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षा शास्त्र सङ्कायले सन् २०१० (विसं. २०६७) देखि तीन वर्षे बीएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्स पढाउन सुरु गरेको थियो ।
हाल यो कोर्स देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ । समग्रमा भन्दा बीएड आईसीटीको परिमार्जित कोर्स नै बीआईसीटीई हो । तर अहिले यी दुवै कोर्स सञ्चालनमा छन् ।
कस्तो छ पाठ्य संरचना?
सुरुमा तीन वर्षे कोर्सको रुपमा सुरु गरिएपनि सन् २०१५ मा पुन:संरचना गरिएको कोर्सलाई १३८ क्रेडिट आवरको बनाइयो । जसमा कोर आईटी विषय ४३ प्रतिशत (६० क्रेडिट), म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स २२ प्रतिशत (३० क्रेडिट), प्रोफेसनल एजुकेसन १७ प्रतिशत (२४ क्रेडिट), कम्युनिकेसन स्किल ९ प्रतिशत (१२ क्रेडिट), प्राेजेक्ट वर्क र इन्टर्नशिप ९ प्रतिशत (१२ क्रेडिट) राखियो ।
त्यस्तै परिमार्जित पाठ्यसंरचना अनुसार भने बीआईसीटीईमा कोर आईटी विषय ५२ प्रतिशत (६९ क्रेडिट), म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स ११ प्रतिशत (१५ क्रेडिट), प्रोफेसनल एजुकेसन १८ प्रतिशत (२४ क्रेडिट), कम्युनिकेसन स्किल ९ प्रतिशत (१२ क्रेडिट), प्राेजेक्ट वर्क तथा इन्टर्नशिप (६ क्रेडिट) र लाइफ स्किल ५ प्रतिशत (६ क्रेडिट ) विषयहरू अध्यापन हुने गर्छ ।
कस्ता छन् पढाइ हुने विषय ?
कोर्समा आईटी तथा नन्आईटीका विभिन्न विषय समावेश गरिएकाे छ । तल तीबारे संक्षिप्तमा चर्चा गरिएको छ:
-कोर आईटी
पहिलो सेमेस्टरमा ‘आईटी एन्ड प्रोग्रामिङ कन्सेप्ट विथ सी’, दोस्राे सेमेस्टरमा ‘डिजिटल लजिक’ र ‘अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ विथ सी++’ पढाइ हुन्छ । यी दुवै विषय ६/६ क्रेडिटका हुन् ।
तेस्रो सेमेस्टरमा ‘डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम’, ‘कम्प्युटर आर्किटेक्चर एन्ड अर्गनाइजेसन’ र ‘वेब टेक्नोलोजी’, चौंथो सेमेस्टरमा ‘अपरेटिङ सिस्टम’, ‘डेटाबेस म्यानेजमेन्ट सिस्टम’ र ‘सिस्टम एनलाइसिस एन्ड डिजाइन’ रहेको छ । यी ९/९ क्रेडिटका कोर आईटी विषय हुन् ।
तेस्रो सेमेस्टरमा ‘ट्वान्टी फस्ट सेन्चुरी लाइफ स्किल’ र चौंथो सेमेस्टरमा ‘एजुकेसनल लिडरशिप इन डिजिटल एरा’ राखिएको छ । साथै दुवै सेमेस्टरमा जीवनोपयोगी सीपबारे एक-एक विषय छन् ।
पाँचौ सेमेस्टरमा ‘जाभा प्रोग्रामिङ’, ‘डेटा कम्युनिकेसन एन्ड नेटवर्कस्’, ‘सफ्टवेयर इन्जिनियरिङ एन्ड प्रोजेक्ट’ छन् ।
छैटौं सेमेस्टरमा ‘भिजुअल प्रोग्रामिङ’, ‘कम्प्युटर ग्राफिक्स’, ‘डिजिटल पेडागोजी एन्ड एलएमस’ र ‘नेटवर्क एन्ड इन्फरमेसन सेक्युरिटी’ विषयहरु अध्यापन हुने गर्छ ।
सातौं सेमेस्टरमा ‘आर्टिफिसियल इन्टेलिजेन्स इन एजुकेसन’ र ‘टिचिङ मेथोड फर आईसीटी’ पढाइ हुन्छ । साथै ‘जिआईएस/बिग डेटा एनालिसिस’ र ‘क्यापस्टोन प्रोजेक्ट’ मध्ये कुनै एक ऐच्छिक विषय रुपमा पढ्नु पर्छ ।
आठौं सेमेस्टरमा ‘सिस्टम एड्मिनिस्टेटर विथ लिनक्स’, ‘पाइथन प्रोग्रामिङ’ छन् । ‘क्लाउड कम्प्युटिङ’ वा ‘मल्टिमिडिया टेक्नोलोजी’ जस्ता विषय ऐच्छिक रुपमा राखिएका छन् । त्यस्तै उही सेमेस्टरमा १२/१२ क्रेडिटको इन्टर्नशिप/शिक्षण अभ्यास राखिएको छ ।
-कम्युनिकेसन स्किल
पहिलो र दोस्रो सेमेस्टरमा कम्युनिकेसन स्किल अन्तर्गत अनिवार्य अंग्रेजी भाषा र नेपाली भाषा पढाइ हुन्छ । यी १२ क्रेडिटका विषय हुन् ।
विद्यार्थीहरुमा भाषिक ज्ञान र तार्किक सीपको विकास गर्न यी विषयले सहयोग गर्ने गर्छ ।
-प्रोफेसनल एजुकेसन
प्रत्येक सेमेस्टरमा प्रोफेसनल एजुकेसनका एक/एक विषय राखिएका छन् । ती विषयमा वर्तमान शिक्षा के/किन/कसरी/कहिले/कहाँ सिकाउने जस्ता विषयवस्तुको अभ्यास गराइन्छ ।
यस अन्तर्गत ती विषयहरू क्रमश: पहिलोदेखि आठौं सेमेस्टरसम्म ‘फण्डामेन्टलस् अफ एजुकेसन’, ‘डेभलपमेन्टल साइकोलोजी’, ‘साइकोलोजी अफ लर्निङ’, ‘फण्डामेन्टलस् अफ करिकुलम’, ‘शिक्षण र सिकाइमा मूल्याङ्कन’, ‘शिक्षामा अनुसन्धान विधिहरू’ र ‘अनुसन्धान परियोजना’ राखिएको छ।
-म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स
कम्प्युटर विज्ञान र गणित एक अर्काको परिपुरक विषय हुन् । गणितबिना सूचना तथा प्रविधि अधुरो रहन्छ । गणितको आवश्यकतालाई मध्यनजर गरी बीआईसीटीईमा १५ क्रेडिटको विभिन्न गणितीय विषय राखिएकाे छ ।
यसअन्तर्गत पहिलो र दोस्राे सेमेस्टरमा ‘म्याथम्याटिक्स १’ र ‘म्याथम्याटिक्स २’ छन् । तेस्रो, चौंथो र पाँचौ सेमेस्टरमा क्रमश: ‘प्राेब्याबिलिटी र स्टाटिस्टिक्स’, ‘न्युमेरिकल एनलाइसिस’, ‘डिसक्रीट म्याथम्याटिक्स’ छन् ।
-प्रोजेक्ट तथा इन्टर्नशिप
छोटो अवधिको इन्टर्नशिपले विधार्थीलाई आफ्नो सीप तिर्खान र क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ । त्यस्तै परियोजन (प्रोजेक्ट) मार्फत आफूले सिकेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई उनीहरूले मूर्त रुप दिन सक्छन् । त्यहीअनुरुप अन्तिम सेमेस्टरमा ‘रिसर्च प्रोजेक्ट’, ‘सफ्टवेयर प्रोजेक्ट’ र ‘इन्टर्नशिप’लाई अनिवार्य गरिएको छ ।
सुविधा सम्पन्न कम्पुटर ल्याब सहित न्यूनतम शुल्कमा अध्यापन गराइँदै आएको यो कोर्ष पढ्नको लागि वालिङ बहुमुखी क्याम्पसमा जम्मा सीट संख्या ३६ रहेको छ। पहिलो ब्याचको रुपमा हाल पाँचौ सेमेस्टर अध्ययनरत विद्यार्थीहरु कोही पनि खाली नरहेको र कुनै न कुनै क्षेत्रमा आबद्ध भैसकेको वालिङ बहुमुखी क्याम्पसले जनाएको छ।
दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरु समेत स्थानीय बजारमा बिकिसकेका छन्।
नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुलाई यही भदौ १४ गतेसम्म आवेदन फारम भर्नको लागि समय दिइएको छ।
टेकपाना अनलाईन समेतको सहयोगमा।
आफ्नो प्रतिक्रिया दिनुहोस्