वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटीई क्लब गठन, भट्टराई बने सभापति

असोज ८/वालिङ : स्याङ्जा जिल्लाको मुख्य व्यापारिक केन्द्र वालिङ बजारमा अवस्थित स्याङ्जा जिल्लाको शैक्षिक हबको रुपमा रहेको वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटीई क्लब गठन गरिएको छ।

सूचना प्रविधिको माध्यमबाट क्याम्पस र यस आसपासका क्षेत्रहरूमा टेवा पुर्याउने उदेश्यले लामो समयदेखिको तयारी, छलफल तथा अन्तरक्रिया पश्चात आज बिआईसिटीई क्लब गठन गरिएको हो।‌ नवगठित बिआईसिटीई क्लबको अध्यक्षमा कपिल भट्टराई चयन भएका छन्। उनको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटीई धारमा अध्ययनरत पाँचौँ सेमेस्टर, चौथो सेमेस्टर, पहिलो सेमेस्टरमा अध्ययनरत ५० भन्दा बढी विद्यार्थीहरु सहभागी उक्त अन्तर्क्रिया कार्यक्रममा वर्तमान परिपेक्ष्यमा बढ्दै गइरहेको प्रविधि विषयको आवश्यकता, यसले समाजमा पुर्याउन सक्ने प्रभाव, आईटी कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुको भविष्य लागायतका विषयमा प्रकाश पार्दै वालिङ बहुमुखी क्याम्पसमा अध्यापनरत सूचना तथा प्रविधि विषयका सहायक प्राध्यापक अमृत पराजुलीले प्राविधिक विषय नै अहिलेको आवश्यकता रहेको औंल्याउँदै बिआईसिटीई क्लबको प्रगतिको कामना गरे।

वालिङ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव बिपीन कुँवरले आफ्नो धारणा राख्दै उक्त क्लबको शुभकामना व्यक्त गरे। स्वतन्त्र विद्यार्थी युनियनको मातहतमा रही स्थापना भएको उक्त क्लबलाई आफ्नो तर्फबाट भरपुर साथ र सहयोग रहने उनको प्रतिबद्धता थियो।

यसैगरी अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले उठाएका विभिन्न प्रश्नहरुको जबाफ दिँदै बिआईसिटीई पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी जीवन अर्यालले क्याम्पसले आफ्नै ठाउँमा सूचना प्रविधि जस्तो प्राविधिक विषयमा स्नातक तहसम्मको पठनपाठन सस्तो र सर्वसुलभ तरिकाले उपलव्ध गराएकोमा क्याम्पसलाई आभार व्यक्त गरे।

सोही छलफल तथा अन्तरक्रिया कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस शिक्षा संकाय डीन तथा निवर्तमान कामु क्याम्पस प्रमुख युवराज पाठकले आफूलाई क्याम्पसमा बिआईसिटीई धारले नै चिनाएको र यस धारको आफूलाई विशेष माया रहेको बताउँदै सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गरेका थिए।‌

वालिङ बहुमुखी क्याम्पस वालिङका क्याम्पस प्रमुख भीमप्रसाद पंगेनीले क्याम्पसको शैक्षिक प्राज्ञिक उन्नयनमा एकत्रित भएर लागेका विद्यार्थीलाई बधाई दिँदै क्याम्पसमा बिबिएस क्लब, बिएड क्लब समेत गठन गरी शैक्षिक हितमा लाग्न विद्यार्थीलाई अनुरोध समेत गरे।

बिआईसिटीई क्लब विशुद्ध प्राविधिक धारमा आधारित रहेकाले आफ्नो मर्म र सिद्धान्तका आधारमा चल्नुपर्ने बताउँदै बजारमा प्रतिष्पर्धी बन्न, आफ्नो करियरको सुरुवात असल तरिकाले गर्न र समाजसेवामा निडर भएर लाग्न समेत विद्यार्थीलाई अनुरोध गरे।‌

शैक्षिक प्राज्ञिक व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन बिआईसिटीई पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिपिसा डुम्रेले गरेकी थिईन्। उक्त कार्यक्रममै आज बिआईसिटीई क्लब लेखिएको टिसर्ट समेतको हस्तान्तरण गरिएको थियो। क्याम्पस प्रमुख भीमप्रसाद पंगेनीले बिआईसिटीई क्लब वालिङ बहुमुखी क्याम्पसका अध्यक्ष कपिल भट्टराईलाई टिसर्ट हस्तान्तरण गरेका थिए।

बिआईसिटीई क्लबले अब सूचना तथा प्रविधि विषयमा विभिन्न योजनाहरु बनाएर अघि बढ्नेछ।

Share Post on Social media