तिहारमा अर्जुनचौपारीका विद्यार्थीको देउसी,” छैन हाम्लाई जान मन विदेश”
खबरकलम संवाददाता/अर्जुनचौपारी: अर्डाजुनचौपारी गाउँपालिका वडा नं ६ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयस्तरीय आधारभूत तह (१-५) सम्मका विद्यार्थीलाई हिन्दूहरूको दोश्रो ठूलो चाड तिहारको अवसरमा देउसीभैलो प्रतियोगिता आयोजना गरी सहभागी गराइएको हो। कार्तिक ११ गते आयोजना गरिएको उक्त प्रतियोगितामा दरौं मावि तथा श्री गाउँफर्क जनहित मावि प्रथम, श्री जनविकास आवि तृतीय तथा श्री राष्ट्रिय आवि सान्त्वना भएका छन्।
देउसीभैलो प्रतियोगितामा सहभागी आधारभूत तहका विद्यार्थीहरुले देशप्रेम र राष्ट्रिय भावनालाई शब्दमा उतार्दै आफूहरु यही देशको भविष्य निर्माण गर्ने शक्ति भएको र विदेशिने चाहना नभएको उल्लेख गर्दै देशको विकासलाई गति दिन र सुशासन कायम गर्न गीत मार्फत नै अनुरोध गरेका थिए।
सहभागी साना विद्यार्थी भाइबहिनीहरुले देउसीभैलो प्रतियोगितामा “छैन हाम्लाई जान मन विदेश, जसरी नि बस्ने हो यही देश” भनी गीत गाउँदा उपस्थित जनप्रतिनिधि तथा स्थानीयहरु भावुक बने। देशमा चरम निराशा र असन्तुष्टि बढिरहेका बेला विद्यार्थीको गीतको भावले सबै जनालाई सोचमग्न बनाएको थियो।
अर्जुनचौपारी गाउँपालिका वडा नं ६ वडा कार्यालयले विद्यालय बिदाको समयमा समेत देउसीभैलो प्रतियोगिता आयोजना गरी विद्यार्थीलाई सहभागी हुने अवसर दिएकोमा विद्यार्थीले आभार प्रकट गरे।
उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने दुई विद्यालयले ११० अंक, तृतीय हुनेले १०१.५ अंक तथा सान्त्वना हुने विद्यालयले ९७ अंक प्राप्त गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्