खुमा अर्याल फाउण्डेशनको छैंटौं स्थापना दिवसका अवसरमा खुला रक्तदान तथा स्वास्थ्य शिविर हुँदै

मंसिर ३/खबरकलम संवाददाता: वरिष्ठ उद्यमी तथा मेडिकल कलेज व्यवशायी खुमाप्रसाद अर्यालको सक्रियतामा खोलिएको सामाजिक कल्याणकारी संस्था खुमा अर्याल फाउण्डेशनको छैंटौं स्थापना दिवसका अवसरमा यही मंसिर ५ गते खुला रक्तदान तथा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

आज एक अन्तर्क्रिया तथा पत्रकार भेटघाट कार्यक्रम गरी खुमा अर्याल फाउण्डेशनका तर्फबाट फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले मंसिर ५ गते हुने रक्तदान तथा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरका विषयमा प्रकाश पारे।

मेडिकल कलेज व्यवशायी खुमाप्रसाद अर्यालको जन्मस्थान भीरकोट नगरपालिका वडा नं ७ स्थित कालिका बहुमुखी क्याम्पसमा मंसिर ५ गते उक्त कार्यक्रम तय गरिएको छ। गण्डकी मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुले विभिन्न ११ वटा स्वास्थ्य सेवा उपलव्ध गराइनेछ। जसमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, पेट छाति तथा मुटु रोग सेवा, बाल रोग सेवा, फार्मेसी सेवा, प्रयोगशाला परीक्षण, इसिजी, भिडियो एक्सरे सेवा, दन्तरोग सेवा लगायतका विशेषज्ञ सेवा उपलव्ध गराइने छ।

अर्जुनचौपारी, करेनडाँडा र बयरघारीबाट बिरामीको लागि निशुल्क यातायात सेवा उपलव्ध गराइने, उक्त स्वास्थ्य शिविरमा उपचार गराउन आउने बिरामीको थप उपचार गर्नु परेमा गण्डकी मेडिकल कलेज तथा युनिभर्सल मेडिकल कलेजमा विशेष छुटसहित उपचार व्यवस्था गरिने फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको समेत सहकार्य रहने उक्त स्वास्थ्य शिविरमा रगत संकलन समेत गरिने छ। उक्त कार्यक्रमका लागि आयोजकले विभिन्न उपसमिति समेत बनाएर काम सुरु गरेको छ।

विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर मंसिर ५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ। साथै सोही दिन नेपाललाई यु-१९ क्रिकेट विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिने स्याङ्जा जिल्लाको प्रतिनिधित्व गरी खेलेका खेलाडीको सम्मान समेत गरिनेछ।

Share Post on Social media