निषेधाज्ञाको असर, स्याङ्जा सुनसान।

भदौ ३/खबरकलम: कोरोना संक्रमण बढ्दै गएपछि र समुदाय स्तरमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा समेत संक्रमण देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। र यो निषेधाज्ञा २०७७ भदौ ११ गतेसम्मको लागि हुने जनाइएको छ।

निषेधाज्ञाको कारण बजारहरु सुनसान देखिएका छन्। मानिसहरुको चहलपहल निकै कम र शुन्यप्राय: भएको छ। स्याङ्जा जिल्लाका ११ वटै पालिकाले समेत कडाई गर्न थालेपछि बजारमा मानिसको उपस्थिति निकै पातलिएको हो।

चापाकोट नगरपालिकाले विज्ञप्ति जारी गरेर निषेधाज्ञाको पालना गर्न भनेको छ।

आँधीखोला गाउँपालिकाले सूचना जारी गरेरै निषेधाज्ञाको पालना गर्न अनुरोध गरेको छ।

आज बिहानै भीरकोट नगरपालिकामा खुलेका पसलहरुलाई प्रहरीले बन्द गराएको थियो। माइकिङ गरेर पसल,होटेल,सैलुन लगायत सबै (अत्यावश्यक सेवाका क्षेत्रबाहेक) बन्द गर्न लगाइएको थियो। भीरकोट नगरपालिकामा कार्यरत कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका थप कडाईमा उत्रेको हो।

वालिङ नगरपालिकाले समेत निषेधाज्ञाको पूर्ण रुपमा कडाईका साथ पालना गर्न र घरबाट बाहिर ननिस्कन सबैलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

स्याङ्जा जिल्ला प्रवेश गर्ने मुख्य नाका कुभिण्डेमा फेदीखोला गाउँपालिका र प्रदेश ५ सँगको नाका राम्दीमा गल्याङ नगरपालिकाले कडाई गरेपछि जिल्ला प्रवेशमा थप कडाई भएको हो। अत्यावश्यक सेवाका सवारी, मालवाहक सवारी बाहेक अरु जुनसुकै सवारी र यात्रुलाई कडा निगरानीमा राखिएको छ। र प्रवेशमा रोक लगाईएको छ। पोखरामा समुदाय स्तरमा नै कोरोना संक्रमण पुष्टि भएपछि र पोखरा महानगरपालिका सिल गरिएपछि स्याङ्जा जिल्ला प्रशासन कार्यालय पनि थप कडाईमा उत्रेको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अटेरी गर्ने जोसुकैलाई पनि कडा कारबाही गरिने जानकारी गराउँदै चाडबाडको समयमा समेत कतै नजान, घरमै बस्न, पाहुना नबोलाउन, सरसफाईको मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशनात्मक अनुरोध गरेको छ।

Share Post on Social media