गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा दीपिका अर्याल प्रथम

मंसिर २०/खबरकलम संवाददाता: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले लैङ्गिक हिंसा विरूद्ध सचेतना जगाउन गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत  “लैङ्गिक हिंसा निवारणमा नागरिकको भुमिका¨ शीर्षकमा आज खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो। वक्तृत्वकलामा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीकी दीपिका अर्याल प्रथम भएकी छन्। 

प्रतियोगितामा सहभागी १२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै अर्यालले प्रथम स्थान हासिल गरेकी हुन्। यस्तै उक्त प्रतियोगितामा सुलता थापा मगर द्वितीय र प्रविन विकले तृतीय स्थान हात पारे भने नन्दकली तिवारीले सान्त्वना स्थान प्राप्त गरिन्।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले समाजमा महिला   हिंसा कायमै रहेको  बताउँदै  सरोकारवालाहरु सबै मिलेर न्यूनीकरण गर्नुपर्ने कुरामा जोड दिए। उनले यस अभियानमा आमा समुह तथा स्वास्थ्य स्वयं सेविका सबैको साथ चाहिने बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, गाउँपालिका प्रवक्ता एवम् वडाध्यक्ष धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केसी ढकाल लगायतले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सचेतना र महिला सशक्तीकरणमा जोड दिएका थिए।

 उक्त कार्यक्रममा आमा समुहका प्रतिनिधि , महिला स्वयंसेविका तथा विद्यार्थीहरूको समेत उपस्थिति थियो।

Share Post on Social media