भगवतीमाई सहकारी संस्थाको छैंटौं साधारणसभा सम्पन्न, ४९ लाख मुनाफासहित पालिका उत्कृष्ट
जीवन अर्याल/मंसिर २९: स्याङ्जाको अर्जुनचौपारीस्थित भगवतीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैंटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
आज आफ्नै कार्यलय रहेको भवन प्राङ्गणमा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाले छैंटौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो। संस्था विसं २०७६ सालमा स्थापना भई अर्जुनचौपारी गाउँपालिकालाई कार्यस्थल बनाएर सेवा प्रवाह गरिरहेको छ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा यस सहकारी संस्थामा कुल शेयरधनी ४०० जना रहेका छन्। जसमा पुरुष २१९ जना र महिला १८१ जना रहेका छन्। यस आर्थिक मसान्तसम्म कर्जा लगानी रकम रु ७,६७,६६,६३४/-, निक्षेप रु ४,३२,७०,७७९/- रहेको छ। संस्थाको नाममा बैंक मौज्दात रु २१,४९,०५०.५७/- रहेको छ।
संस्थाले बचत तर्फ विभिन्न ७ वटा शीर्षकमा बचत संकलन गरिरहेको छ भने कर्जातर्फ ४ वटा शीर्षकमा कर्जा लगानी गरिरहेको छ। सहकारी मुनाफा आर्जन गर्ने सूचकमा अर्जुनचौपारी गाउँपालिकाका १८ वटा सहकारीमध्ये अग्रस्थान ओगटेको छ। यस सहकारीले आर्थिक वर्ष २०८०/८१ मा ४९ लाख रुपियाँ सञ्चालन मुनाफा कमाएको छ।
साधारणसभा मार्फत आगामी आर्थिक वर्षका लागि संस्थाले विभिन्न प्रस्तावित वार्षिक कार्यक्रम समेत सार्वजनिक गरेको छ। जसमा शेयर रकम बढाएर दुई करोड पचास लाख पुर्याउने, निक्षेप रकम बढाएर ७ करोड पुर्याउने, रु १०० देखि १००० सम्मका शेयर खुला गर्ने, बिमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, सहकारी सम्बन्धी तालिम सञ्चालन गर्ने, कृषि कर्जामा सहुलियत दर कायम गर्ने, कर्मचारीलाई बोनस र सञ्चय कोषको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता योजनाहरु समावेश गरिएका छन्।
सहकारीको साधारणसभामा उपस्थितलाई एकमुष्ट स्वागत गर्दै सहकारीको तर्फबाट उपाध्यक्ष दुर्गाकुमारी बस्नेतले स्वागत मन्तव्य व्यक्त गरिन्। उक्त कार्यक्रममा बोल्दै ग्रामीण स्वावलम्बन सहकारी संस्था लिमिटेडका अध्यक्ष बोधनारायण रेग्मीले एकै प्रकृतिका दुई फरक संस्थामा कानूनतः सदस्य बन्न नमिल्ने भएकाले यसमा सजगता अपनाउन आग्रह गरे। यस्तै समाजसेवी पूर्णबहादुर अधिकारीले नियमित बचत गर्ने बानी अझैपनि शेयर सदस्यहरुमा विकास नभईसकेको भन्दै यसले सहकारीलाई दिगो बनाउन बाधा पार्ने बताए। ऋण लिनेले समेत समयमा ऋण तिर्नुपर्नेमा उनको जोड थियो। अर्जुनचौपारी गाउँपालिका कार्यपालिका सदस्य विन्दु जिटीले सहकारीको महत्व झल्कने गरी गजल सुनाइन्।
भगवतीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका परियोजनाकार तथा प्रमुख संरक्षक टुकराज अर्यालले यो सहकारीलाई यहाँसम्म ल्याईपुर्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे। समानताको आधारमा सहकारी चलेको बताउँदै उनले दुरदर्शिता कायम गरेर अघि बढे असफल हुन नपर्ने कुरामा जोड दिए। यस्तै विशिष्ट अतिथिको रूपमा बोल्दै अर्जुनचौपारी गाउँपालिका योजना तथा सहकारी शाखा प्रमुख दीपक थापाले सहकारीका नीति तथा सहकारीले पालना गर्नुपर्ने नियमका विषयमा चर्चा गरेका थिए।
वडा नं १ का वडाध्यक्ष रनबहादुर थापाले उक्त साधारणसभा कार्यक्रममा बोल्दै कुनै पनि सहकारीको सदस्यले नकरात्मक सन्देश प्रवाह गर्न वा फैलाउन नहुने कुरामा जोड दिए। सहकारीहरु विभिन्न नामले सञ्चालित भएपनि बचत संकलन र कर्जा प्रवाह गर्नेमै सीमित भएकाले सीप विकास र आत्मनिर्भरता जस्ता कार्यक्रम मार्फत आम शेयरधनीको जीवनस्तर उकास्न सहकारी लाग्नुपर्ने कुरा समेत उनले बताए।
प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बोल्दै आफूले भनेका सबै कुराहरु पूरा नहुँदैमा गाउँपालिकालाई गाली गर्न नहुने बताए। गाउँपालिका बनाउने कुरा सबैभन्दा ठूलो कुरा भएकाले भूगोलभित्र रहेका हरेक क्षेत्रबाट सुधार र जवाफदेहिता बहन भएमात्र सम्बृद्ध पालिका बन्ने सपना पूरा हुने उनको भनाइ थियो।
यो ठाउँ बन्नुपर्ने कि आफूले भनेको कुरा मात्र पूरा हुनुपर्ने? भन्ने विकल्पलाई छानेर अघि बढ्न उनको सुझाव थियो। समाजका हरेक क्षेत्रमा सुशासन र पारदर्शिता कायम भएमात्र समाज अब्बल हुने भएकाले सुशासनको जग बसाल्ने आफूहरुको जिम्मेवारी भएकाले यो परिकल्पना पूरा हुन केही समय लागेपनि जरुर पूरा हुने र अर्जुनचौपारी गाउँपालिका बन्ने कुरामा विश्वस्त हुन सबैमा आग्रह गरे।
सहकारी बलियो भएमात्र समाजमा आर्थिक गतिशीलता कायम हुने भएकाले कुनैपनि सहकारीको दादागिरी भने स्थानीय सरकारले नसहने प्रष्ट पारे। पालिकाले महिला सशक्तीकरणमा जसरी अगाडी बढेको छ, सहकारी समेत महिला सशक्तीकरण र निम्न आयआर्जन भएका वर्गको उत्थानका लागि खट्नुपर्ने कुरामा एकजुट हुन सबैलाई अनुरोध गरे।
साधारणसभामा उत्कृष्ट वचतकर्ताको रुपमा दुर्गाबहादुर गुरुङ, उत्कृष्ट कर्जाको कारोबार गर्ने सुबिना सुनार, उत्कृष्ट ज्येष्ठ नागरिक वचतकर्ताको रुपमा ज्येष्ठ नागरिक वेदप्रसाद अर्याल सम्मानित भएका छन्। यस्तै एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयरधनीका छात्रछात्रालाई सम्मान गर्ने कार्यक्रम अनुसार दशरथ जंग गोदार र सुविधा अर्याललाई यस वर्षको सम्मान प्रदान गरिएको थियो।
उक्त साधारणसभा कार्यक्रमको सञ्चालन तिलकुमारी रोका ‘सृजना’ ले गरेकी थिइन् भने अध्यक्षता क्याप्टेन रुद्रबहादुर थापाले गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्