अर्जुनचौपारीस्थित नवग्रह मन्दिर अनुष्ठान कार्यक्रमको संयोजकमा टुकराज अर्याल नियुक्त
खबरकलम डेस्क/पौष ३: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा निर्माणाधीन पालिकाकै गौरव आयोजनाको रुपमा रहेको नवग्रह मन्दिरमा आयोजना हुन लागेको नवग्रह मन्दिर धार्मिक अनुष्ठान, गीता ज्ञान तथा शिवतत्व विषयक धार्मिक महोत्सव कार्यक्रमको संयोजकमा टुकराज अर्याल मनोनित भएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत विभिन्न संघसंस्थामा रहेर सामाजिक सेवा र सहयोग गर्दै आएका अर्जुनचौपारी गाउँपालिका वडा नं १ केवरे फाँटका टुकराज अर्याल स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका संस्थापक एवं निवर्तमान अध्यक्ष समेत हुन् ।
उनको सक्रियता र नेतृत्वदायी भूमिकामा पहिलोपटक आयोजना गर्न लागिएको नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सवले गति लिने र भव्य रुपमा सफल रहने अपेक्षा अर्जुनचौपारी गाउँपालिकाले राखेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए। धार्मिक तथा सामाजिक रुपमा सक्रिय व्यक्तिलाई जिम्मेवारी प्रदान गर्दा उक्त कुराले मूर्त महत्व राख्ने उनको भनाइ छ।
अर्जुनचौपारी गाउँपालिका वडा नं १ सिमलचौरमा यही फागुन ६ गतेदेखि १४ गतेसम्म वृहत धार्मिक महोत्सव कार्यक्रम आयोजना गरिँदैछ। जसमा नेपालबाट मात्र नभई भारतबाट समेत योगी, सन्यासी र पुजारीहरु झिकाएर धार्मिक अनुष्ठान गरिनेछ। वैदिक पूजा मार्फत मन्दिरको अनुष्ठान गर्ने, १ करोड २५ लाख बत्ती बाल्ने जस्ता कार्यक्रम समेत उक्त समारोहमा हुनेछन्।
अर्जुनचौपारी गाउँपालिकाको मात्र नभएर नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण भएको उक्त स्थल धार्मिक तथा पर्यटकीय दृष्टिले समेत निकै संभावना बोकेको क्षेत्र हो। जसबाट अर्जुनचौपारी गाउँपालिकाका सम्पूर्ण वडाहरु, अर्जुनचौपारी बजार र सुन्दर हिमाली दृष्यावलोकन समेत गर्न सकिन्छ।
नवग्रह मन्दिर परियोजना अर्जुनचौपारी गाउँपालिका र गण्डकी प्रदेश सरकार समेतको संयुक्त बजेटमा निर्माण गरिएको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस्