अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष सहित प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा
स्याङ्जा/पौष १६: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार निजहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पालिका पूर्वअध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
पूर्वअध्यक्ष अर्याल पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार थिए । तीन हजार ३१९ मत ल्याएका उनले नेकपा (एमाले)का मोहनबहादुर अधिकारीलाई ७८ मतले पराजित गरेका थिए ।
अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा अवस्थित स्थानीय बजार क्षेत्रको बाटो ढलान गर्न आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विनियोजित बजेटबाट गुणस्तरहीन काम गरेको उजुरी आयोगमा परेको थियो।
सो उजुरी निवेदनबारे अनुसन्धान हुँदा आर्थिक वर्ष २०७५/०७६ मा कार्यान्वयन भएको ‘गाउँपालिका सदरमुकाम व्यवस्थापन क’ योजनाको ‘प्रोभाइडिङ मिक्सिङ एण्ड पोरिङ’ र ‘मेसिन मिक्स कङ्क्रिट’ आटमको सबै ठाउँको ढलान भत्किएको पाइएको थियो । राज्यस्रोत खर्च गरिएको सो सडक निर्माणमा अनियमितता गर्दा २७ लाख पाँच हजार ११ रुपैयाँ सात पैसा बराबरको काम गुणस्तरहीन देखिन आएको आयोगले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअध्यक्ष सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय पुरण गुरुङ र कमलप्रसाद गौतमविरुद्ध समेत मुद्धा दायर गरेको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस्